सामूहिक बलात्कार पीडित सदाको घरमा प्रशासकसहित पुगे गृहमन्त्री लेखी, भन्छन्— दोषीलाई जोगाउने कुनै प्रपञ्च सफल हुँदैन

...

सिराहा, फागुन ८ – मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीसँग जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको परिवारले न्यायको गुहार गरेका छन्।

मन्त्री लेखीको नेतृत्वमा पीडितको घर पुगेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसमक्ष पीडित परिवारले आफ्नो पीडा राखेका थिए।

गत माघ २६ गते राति ९ बजे शौच गर्न गएकी रिंकु कुमारी सदा ६ घण्टा बितिसक्दा पनि नफर्केपछि परिवार चिन्तित बनेको थियो। भोलिपल्ट बिहान ३ बजे उनी घरबाहिर रोइरहेको अवस्थामा फेला परिन्। उनले परिवारलाई आफू बलात्कारको सिकार भएको बताइन्।

पीडितका परिवारका अनुसार, रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले उनलाई जबरजस्ती बाँसघारीमा लगेर सामूहिक बलात्कार गरेको खुलाएकी थिइन्।

माघ ३० गते राति ७:२० बजे रिंकु आफ्नै घरभित्र सलले घाँटी बेरिएको अवस्थामा मृत भेटिइन्। माघ २९ गते बलात्कारको घटना दबाउन गाउँमा पंचायती बसेको र त्यसबारे प्रहरीलाई जानकारी भए पनि कुनै प्रभावकारी कदम चालिएको थिएन। हाल पंचायतीमा संलग्न व्यक्ति र बलात्कारका आरोपीहरू फरार छन्।

मन्त्री लेखीले पीडितको परिवारलाई न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै दोषीलाई कुनै हालतमा उम्कन नदिने स्पष्ट पारे। उनले स्थानीय सरकार, समाजसेवी, र जनप्रतिनिधिहरूलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरे।

मन्त्री लेखीले घटनाका दोषीहरूलाई जोगाउन कुनै पनि षड्यन्त्र सफल नहुने बताउँदै, दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिज्ञा गरे। साथै, उनले प्रहरी प्रशासनलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए।

प्रतिक्रिया