राजविराज , फागुन ९ गते ।
नेपालमा दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार, र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमनप्रति दलित सरोकार मञ्च, नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा दलित समुदायमाथि भइरहेको अन्यायका घटनालाई उजागर गर्दै दोषीलाई तत्काल कारबाहीको माग गरेको हो।
मञ्चले सिरहाको नवराजपुर गाउँपालिका९१ मा १७ वर्षीया दलित किशोरी रिङ्कुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र त्यसपछि उनको मृत्यु अत्यन्त शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ। माघ २७ गते रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप छ। समाजकै केही अगुवाहरूले १ लाख ४० हजार रुपैयाँ लिएर मिलापत्र गराएको खुलासा भएको छ। माघ ३० गते उनी मृत अवस्थामा फेला परेकी थिइन्। यस घटनामा संलग्न ८ जनाविरुद्ध जाहेरी दर्ता भए पनि कोही पक्राउ नपरेको भन्दै मञ्चले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।
त्यस्तै, सर्लाहीमा सत्येन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहमा भएको हस्तक्षेपप्रति मञ्चले आपत्ति जनाएको छ। कानुनी रूपमा विवाह गरेका उनीहरूलाई राजनीतिक पहुँचको दुरुपयोग गर्दै भारतसम्म गएर पक्राउ गर्नु गम्भीर विषय भएको मञ्चको दाबी छ। सत्येन्द्रलाई बालविवाहको झुटा आरोप लगाएर फसाउन खोजिएको भन्दै मञ्चले यसलाई कानुनी दुरुपयोगको उदाहरण भनेको छ। सर्वोच्च अदालतले नेहालाई सत्येन्द्रकै जिम्मा लगाउने आदेश दिए पनि निरन्तर धम्की दिइनु मानवअधिकार उल्लङ्घन भएको मञ्चले जनाएको छ।
रौतहटस्थित वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान र मुस्लिम नेता सलाउदिन दर्जीलाई राज्य संयन्त्रद्वारा झुटा मुद्दामा फसाउने प्रयास भएको आरोप मञ्चले लगाएको छ। जातीय भेदभावविरुद्ध आवाज उठाउनेहरूमाथि प्रतिशोधस्वरूप फसाउने प्रयास भइरहेको मञ्चको दाबी छ। प्रहरी प्रशासनको समेत मिलेमतो देखिएको भन्दै मञ्चले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
मञ्चले विद्यालयहरूमा व्याप्त जातीय विभेदबारे पनि छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न आग्रह गरेको छ। संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धि सम्झौताहरूअनुसार दलित समुदायका अधिकार पूर्णरूपमा कार्यान्वयन गर्न माग गर्दै मञ्चले दलित समुदायमाथि भइरहेका बलात्कार, हत्या तथा दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ।
यदि माथि उल्लिखित मागहरू सम्बोधन नगरिए न्यायका हिमायतीहरूसँग मिलेर आन्दोलन गर्ने चेतावनी पनि मञ्चले दिएको छ।
प्रतिक्रिया