कञ्चनपुर, फागुन १० गते ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ महुली (मोहनपुर) पक्की सडकको शनिबार शिलान्यास गरिएको छ। वडा कार्यालयद्वारा आयोजित एक समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले भूमि पूजन गरी सडक निर्माणको शुभारम्भ गरेका हुन्।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री साहले जनताको भारी मतले निर्वाचित हुन सकेको कारण आफूले विकास निर्माणलाई प्राथमिकता दिएको बताए। उनले विशेष पहलमार्फत बजेट विनियोजन गराइएको उल्लेख गर्दै सो सडक निर्माणपछि हजारौं स्थानीय बासिन्दा लाभान्वित हुने धारणा राखे।
कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ की पूर्व अध्यक्ष कुशुम आचार्य, वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए।
स्थानिय दुर्गाप्रसाद भट्टराईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रभुनाथ कोइरालाले स्वागत मन्तव्य दिएका थिए।
करिब १ करोड ८७ लाख १९ हजार २ सय ९५ रुपैयाँ लागतमा निर्माण हुने सो सडकको ठेक्का लिरुङ धुप्चेश्वर शुभम जेभी, विदुर–१०, नुवाकोट ले पाएको छ। निर्माण कार्य २०८१ फागुन ६ गतेदेखि सुरु भई २०८२ असार ३१ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीय बासिन्दाले सडक निर्माण कार्य समयमै सम्पन्न भई सहज आवागमनको सुविधा मिल्ने अपेक्षा गरेका छन्।
प्रतिक्रिया