मिर्चैया होलिडे होटेलमा मेहतर समुदायका अगुवासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

...

सिरहा, मिर्चैया, फागुन ११ गते ।
सिरहाको मिर्चैया स्थित होलिडे होटेलमा राउत मेहतर जातिको घरधुरी सर्वेक्षणबाट प्राप्त निचोडहरूबारे दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दलित सरोकार मन्च नेपाल र नेपाल राउत मेहतर उत्थान समाज, राजबिराजको आयोजनामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मेहतर समुदायका अगुवाहरू, सर्वेक्षणकर्ता तथा सरोकारवालाहरूको उपस्थितिमा समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थाबारे विस्तृत छलफल गरियो । समुदायले भोगिरहेका समस्याहरू र तिनको समाधानका उपायबारे गहन विचार–विमर्श गरिएको थियो ।
समुदायको अवस्था र सर्वेक्षणको निष्कर्ष
सर्वेक्षणको नतिजाले मेहतर समुदायको शैक्षिक अवस्था अत्यन्तै कमजोर रहेको, रोजगारीका अवसर न्यून रहेको तथा सामाजिक रूपमा पछाडि पारिएको अवस्था उजागर गरेको छ । साथै, स्वास्थ्य सेवामा पहुँच सीमित रहेको तथा बासस्थान सुधारको आवश्यकता रहेको पाइएको छ ।
कार्यक्रमका सहभागीहरूले समुदायको अधिकार सुनिश्चित गर्न, अवसरहरूको सिर्जना गर्न र समृद्धितर्फ उन्मुख गर्न सरकार तथा सरोकारवाला निकायहरूलाई विशेष ध्यान दिन आग्रह गरे ।

  • स्थानीय अगुवाहरूको धारणा

कार्यक्रममा स्थानीय अगुवाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र बासस्थान सुधारका विषयमा आफ्ना धारणा व्यक्त गरे । उनीहरूले मेहतर समुदायलाई समृद्ध बनाउन प्रभावकारी योजना आवश्यक रहेको उल्लेख गरे । सहभागीहरूले सरकारले विशेष कार्यक्रम तथा सहयोगका पहल गर्नुपर्ने मागसमेत गरेका छन् ।

  • समुदायका लागि नयाँ रणनीति

नेपाल राउत मेहतर उत्थान समाजका अध्यक्ष मनोज राउतले समुदायका समस्या समाधानका लागि नयाँ रणनीति अपनाउने तथा दीर्घकालीन योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए । उनले समुदायलाई सक्षम, शिक्षित र आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्य अगाडि बढाइने विश्वास व्यक्त गरे ।
दलित सरोकार मञ्च नेपाल, सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले भने, “राउत मेहतर समुदायको समग्र उत्थानका लागि नीतिगत सुधार, अवसरहरूको पहिचान र अधिकारको सुनिश्चितता गर्न प्रभावकारी योजना आवश्यक छ । यो अन्तरक्रिया नीति निर्माण तहसम्म प्रभाव पार्नेछ ।“
कार्यक्रमको अन्त्यमा सहभागीहरूले समावेशी नीति निर्माण, आर्थिक उत्थानका उपायहरू र सरकार तथा गैरसरकारी संस्थाहरूको सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले । यस अन्तरक्रिया कार्यक्रमले मेहतर समुदायका समस्या उजागर गर्दै उनीहरूको समृद्धिका लागि नीति निर्माणकर्ताहरूलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
सोही कार्यक्रम रघु लामिछानेले प्रशिक्षक दिएका थिए ।
 

प्रतिक्रिया