जमुवा सरदार टोलमा भीषण आगलागी, घर जलेर नष्ट

...

कञ्चनपुर, फागुन १२ गते ।

कञ्चनरुप नगरपालिका–६, जमुवा सरदार टोलमा सोमबार राति भएको भीषण आगलागीले ठूलो धनमालको क्षति भएको छ । स्थानीय बचकुन सरदारको घरमा राति करिब १०:३० बजे अचानक आगो लाग्दा लाखौंको क्षति भएको हो ।
प्राप्त जानकारी अनुसार, आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरमा रहेका आवश्यक सामग्री समेत नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट करिब एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन ।
स्थानीय बासिन्दा गगाराम साहका अनुसार, आगलागीको समयमा स्थानीयवासी तथा सुरक्षाकर्मीले सक्रियताका साथ आगो नियन्त्रणमा लिएका थिए। सुरक्षाकर्मीको सहयोगले आगलागी फैलन नपाए पनि घरको ठूलो हिस्सा जलेर नष्ट भएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षाकर्मीले जानकारी दिएका छन् । यस आगलागीबाट पीडित परिवारलाई आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्न स्थानीय निकाय तथा सम्बन्धित निकायसँग माग गरिएको छ । स्थानीय प्रशासनले यस घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।

प्रतिक्रिया