काठमाडौं, फागुन १५ गते ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् । उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न कानुनी संरचना बलियो बनाउँदै कार्यान्वयनमा जोड दिइएको बताए ।नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) मा हालै प्रतिवेदन बुझाएको उल्लेख गर्दै उनले समितिबाट प्राप्त हुने सुझाव कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको बताए ।
महिला, कानुन र विकास मञ्चद्वारा आयोजित ‘सिड ९०औँ सत्र’को निष्कर्ष र सुझावबारे भएको छलफलमा बोल्दै मन्त्री सुडीले सरकार कानुनी सुधारसहित नीति कार्यान्वयनमा ध्यान केन्द्रित गरिरहेको बताए । “लैङ्गिक समानताको यात्रामा भएका उपलब्धि र चुनौती दुवै समेटिएको छ । नीतिगत संरचनामा सुधार भए पनि तिनको प्रभावकारी कार्यान्वयन प्रमुख चासोको विषय हो । चुनौती समाधानका लागि लक्षित नीति तथा कार्यक्रम अघि बढाउने तयारीमा छौँ,“ उनले भने ।
महिला हिंसा उन्मूलनका लागि कानुनी र नीतिगत संरचना बलियो बनाउन सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले “महिला समानता र विकासलाई सम्बोधन गर्दै महासन्धिको पूर्ण कार्यान्वयन गर्न मन्त्रालय सक्रिय छ,“ भने ।
मन्त्री सुडीले सरकारी र गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “दुवै एकअर्काका प्रतिस्पर्धी होइनन्, समान उद्देश्यका लागि काम गर्ने साझेदार हुन् । सहकार्य भएमा महिला अधिकार सुरक्षित गर्दै विभेद र हिंसा अन्त्य गर्न सकिन्छ,“ भने ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलासँग सम्बन्धित नीति व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले प्रस्तुत गरिएको प्रतिवेदनले नेपालको वर्तमान अवस्था उजागर गरेको उल्लेख गर्दै थप सुधारका लागि सबैको प्रयास आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया