कञ्चनरुपमा मगर दिवस: "समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गर्नुपर्ने" भोला पासवानको भनाइ

...

कञ्चनपुर, फागुन, १५ गते ।

नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगा बहादुर थापा मगरले मगर समुदायका थुप्रै नेतालाई सिंहदरबार पुर्याए पनि आफूहरू भने अझै बाहिरै बस्न बाध्य भएको बताउँदै अब ४० लाख मगर समुदाय एकजुट भएर शासनसत्तामा सहभागिता बढाउनुपर्ने बताएका छन् ।
नेपाल मगर संघ समन्वय समिति सप्तरीले ४३औँ मगर दिवसको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित फुलबारी पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले मगर समुदाय नेपालको एकीकरणका मुख्य आधार रहेको बताए ।
“राज्यले मगर समुदायको जनसंख्या करिब २० लाख देखाएको छ, जुन तथ्याङ्क सही होइन । हामी ४० लाखको हाराहारीमा छौँ । तर क्षेत्री–ब्राह्मण समुदायसँग थर मिलेका कारण हाम्रो वास्तविक जनसंख्या कम देखाइएको छ,“ थापाले भने ।
उनले मगर समुदायले थुप्रै नेतालाई सिंहदरबार पुर्याए पनि समुदायको हितका लागि राजनीतिक दलहरूले काम नगरेको आरोप लगाए । “हामी खुला प्रतिस्पर्धा गर्न तयार छौँ, तर राज्यको उत्पीडनका कारण मगरलगायत जनजाति समुदाय राज्यका विभिन्न निकायमा न्यून संख्यामा छन्,“ उनले जोड दिए ।
थापाले जातीय समानुपातिक प्रतिनिधित्वको आवश्यकता रहेको उल्लेख गर्दै “उत्पीडनमा परेका जातिहरूको उत्थान गर्न निश्चित समयका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक छ,“ भने ।
संघीयताको सही कार्यान्वयन नहुँदा समस्या झन् जटिल बनेको बताउँदै उनले “संघीय मुलुक भए पनि संघीयता केन्द्रिकृत छ । सत्ता र शक्ति केन्द्रमै सीमित छ । असली संघीयता भनेको पहिचानको सिद्धान्त हो, जुन हामीलाई दिइनुपर्छ,“ भन्दै मगर समुदायको पहिचान र समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
थापाले ऐतिहासिक रूपमा शासकहरूले पटक–पटक मगर समुदायको भाषा, संस्कृति र परम्परामाथि आक्रमण गरेको आरोप लगाए । उनले “शासकहरूको दबाबका कारण मगर भाषा, धर्म र संस्कृति लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण र प्रवद्र्धनमा अब गम्भीर रूपमा लाग्नु आवश्यक छ,“ भने ।

  • मगर समुदायलाई सत्तामा समानुपातिक रूपमा स्थापित गर्नुपर्ने माग

कार्यक्रममा कञ्चनरुप नगरपालिका नगरप्रमुख पदका प्रत्यासी भोला पासवानले मगर समुदायले अब आफैं शासनसत्तामा समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गर्नुपर्ने बताए ।
“देशका सीमित जातिहरूलाई सत्तामा पुर्याउन मात्र मगर समुदायको भूमिका बाँधिएको छ । तर, आज न्यायालय, प्रशासन र राजनीतिक क्षेत्रमा मगर समुदाय कहाँ छन्?“ भन्दै पासवानले मगर समुदाय एकजुट हुनुपर्ने बताए ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमन प्याकुरेलले एमाले पार्टी सबै प्रकारका उत्पीडन र विभेदको विरुद्धमा रहेको दाबी गरे ।
त्यसैगरी, आदिवासी जनजाति पत्रकार संघ मधेश प्रदेशका महासचिव बृजमान तामाङले “थारु समुदायपछि दोस्रो ठूलो जनसंख्या मगर समुदायको भए पनि अझै राज्यबाट उपेक्षित अवस्थामा छ,“ बताए । उनले मगर समुदाय सांस्कृतिक रूपमा धनी भए पनि केही समयअघिसम्म आफ्नै परम्परागत पोशाकप्रति समेत सचेत नभएको उल्लेख गरे ।
नेपाल मगर संघ सप्तरीका अध्यक्ष साधना राणा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कञ्चनरुपका पूर्व मेयर बसन्त मिश्र, पत्रकार उत्तम आचार्यलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सञ्चालन सरोज राणा मगरले गरेका थिए । मगर समुदायका महिला तथा पुरुषहरू परम्परागत भेषभूषामा सजिएर झाँकीसहित नगर परिक्रमा गर्दै कार्यक्रमस्थलमा पुगेका थिए ।
 

प्रतिक्रिया