धाराको कनेक्सन काट्न पुगेका कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव गाउँबाट लखेटिए

...

कञ्चनपुर,फागुन १५ गते ।  कञ्चनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिवलाई स्थानीय उपभोक्ताले लखेटेका छन्। बिहीबार बिहान कञ्चनरुप नगरपालिका वडा नम्बर ८, पासमान टोलमा धाराको कनेक्सन काट्न पुगेका खानेपानी संस्थाका सचिव रोशन गुप्तालाई स्थानीय उपभोक्ताहरूले विरोध गर्दै लखेटेका हुन्।

वडा नम्बर ८ निवासी प्रदीप पासमानका अनुसार सचिव गुप्ताले प्रत्येक परिवारबाट ५,००० रुपैयाँ बुझाए मात्र खानेपानीको आपूर्ति दिने, अन्यथा बन्द गर्ने चेतावनी दिएका थिए। उपभोक्ताहरूले नियम विपरीत कुनै रकम नतिर्ने अडान लिएपछि गुप्ताले जबरजस्ती धाराको कनेक्सन काट्न थालेको स्थानीय मुरली पासमानले बताए।

गुप्ताले "उपभोक्तासँग ५,००० रुपैयाँ लिने व्यवस्था छ" भन्दै कामदारलाई खाल्डो खन्न लगाएको समयमा स्थानीय युवाहरूले खानेपानी संस्थाको विधान अनुसार नयाँ कनेक्सन जडानका लागि केवल ५५२ रुपैयाँ मात्र लाग्ने व्यवस्था रहेको प्रष्ट पार्दै प्रश्न गरेपछि गुप्ता कामदारसहित भाग्न बाध्य भएका थिए।

खानेपानी संस्थाको विधानमा स्पष्ट रूपमा ५५२ रुपैयाँ मात्र शुल्क लिएर नयाँ कनेक्सन जडान गर्नुपर्ने उल्लेख भए तापनि संस्थाका पदाधिकारीहरूले उपभोक्ताहरूबाट ५,००० देखि १०,००० रुपैयाँसम्म असुल गर्दै आएको आरोप छ। उपभोक्ताहरूले यस्ता अवैध शुल्क असुलीको विरोध गर्दै कानूनी कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया