जनकपुरधाम, फाल्गुण २२ । मधेश प्रदेशको राजधानी एवं मिथिलाको पावन भूमि जनकपुरधाममा प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क सञ्चालनमा आउन लागेको छ। क्षीरेश्वरनाथ नगरपालिका–१ मा निर्माण सम्पन्न भएको वंडरलैंड वाटर पार्कको उद्घाटन यहि शुक्रबार बिहान ११ बजे नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा गरिने भएको छ।
जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक गुड्डु जैनले पत्रकार सम्मेलनमा बोल्दै वाटर पार्क सञ्चालनको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन, रोजगारीको अवसर सिर्जना गर्ने तथा यस क्षेत्रका जनतालाई उच्चस्तरीय मनोरञ्जन प्रदान गर्नु रहेको बताए। करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यस पार्कमा विभिन्न प्रकारका अत्याधुनिक वाटर स्लाइडहरू, स्विमिङ पुलहरू, वेभ पुल, रेन डान्स, किड्स प्ले जोन, तथा अन्य मनोरञ्जनात्मक सुविधाहरू उपलब्ध छन्।
यस वाटर पार्कमा वेभ पुल, मल्टी-लेन स्लाइड, किड्स वाटर प्ले जोन, ट्विस्टर स्लाइड, रेन डान्स, अत्याधुनिक स्विमिङ पुल तथा पर्याप्त पार्किङ सुविधा रहेको छ। बिहान १०:३० बजे देखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने यस पार्कमा ३ फीट मुनिका बालबालिकाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्य आगन्तुकका लागि प्रति व्यक्ति प्रवेश शुल्क रु. ८४० (कर बाहेक) तोकिएको छ।
पार्कमा हाल ४ वटा वाटर ट्रीटमेन्ट प्लान्ट जडान गरिसकिएको छ, जसले पानीको स्वच्छता कायम गर्नेछ। साथै, आगन्तुकहरूका लागि लकर्स र चेंजिङ रूमको व्यवस्था गरिएको छ। सुरक्षाका लागि लाइफ गार्ड, सुरक्षा गार्ड तथा बाउन्सरहरूको पनि व्यवस्था गरिएको छ।
१८ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको ‘मधेशकै सबैभन्दा ठूलो’ बैंक्वेट हल समेत पार्कको आकर्षण मध्ये एक हुनेछ। यस सुविधामा अत्याधुनिक किचेन, कन्फ्रेन्स हल, बार, तथा लक्जरी केबिनहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। साथै, निकट भविष्यमा थप मनोरञ्जनात्मक खेलकुद उपकरण तथा सुविधाहरू थप्ने योजना रहेको कम्पनीले जनाएको छ।
सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म वाटर पार्कको निर्माणमा करिब रु. १२ करोड ५० लाख खर्च भइसकेको छ। यो पार्क एक पटकमा २ हजारभन्दा बढी आगन्तुक अटाउने क्षमताका साथ तयार पारिएको हो। उद्घाटन समारोहको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सह-प्रबन्ध निर्देशक अभिषेक गोयन्का, डा. मोनी महतो, र शुश्बु जैन सर्राफको उपस्थिति रहेको थियो।
प्रतिक्रिया