राजविराज, फागुन २३ गते ।
सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, फागुन १९ गते बिहान १० बजे राजविराज नगरपालिका–९ मलेठस्थित राजनारायण शाहको जग्गामा रहेको कम्पाउन्डसहितको गोदाममा प्रहरीले छापा मारेको थियो । सप्तरीको जिल्ला प्रमुख अधिकारी भोला दाहालको नेतृत्वमा गएको टोलीले गोदामभित्र बोरा–बोरा प्याक गरिएको अवस्थामा लागूऔषध जस्तो देखिने पदार्थ फेला पारेको थियो । बरामद गरिएको गाँजा डिजिटल तराजुमा तौल गर्दा प्रारम्भिक रूपमा २४५१.५ किलोग्राम रहेको पाइएको छ । प्याकिङका लागि प्रयोग गरिएको प्लास्टिक हटाएपछि लागूऔषधको वास्तविक तौल २४१९.५ किलोग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
सोही गोदाम अगाडि भारत, बिहार राज्यको मधुबनी जिल्लास्थित कुर्कुर गोरा, वडा नम्बर १०, छतापुरका ६६ वर्षीय रामनारायण यादवलाई फागुन २१ गते अपराह्न ४ बजे पक्राउ गरिएको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार, पक्राउ परेका यादव लागूऔषध तस्करीमा संलग्न गिरोहसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।
नेपालमा पछिल्लो समय लागूऔषध तस्करी बढ्दै गएका कारण प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । यसअघि पनि सप्तरीसहित अन्य तराईका जिल्लामा ठूलो मात्रामा लागूऔषध बरामद भएका घटनाहरू सार्वजनिक भएका थिए । नेपाल हुँदै भारत वा तेस्रो मुलुकमा लागूऔषध तस्करी हुने क्रम बढेको र गिरोहहरू सक्रिय रहेको सुरक्षा अधिकारीहरू बताउँछन् । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया