नक्कली नागरिकताका आधारमा बैंक खाता खोल्ने दुई युवक पक्राउ

...

राजविराज, फागुन २३ गते ।
सप्तरीमा अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुण कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार, २०७९ असार महिनामा एक व्यक्तिको नागरिकता हराएको थियो । उक्त हराएको नागरिकतामा अभिषेकले अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैंक मा नयाँ खाता खोलेका थिए । सोही खाता प्रयोग गरी उनीहरूले विभिन्न व्यक्तिहरूबाट लाखौँ रुपैयाँ ठगी गरिरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी अनुसन्धानबाट सो गिरोहले नक्कली कागजातको सहायताले बैंक खाता खोली ठगी गर्ने योजनाबद्ध तरिकाले कार्य गरेको खुलेको छ । बैंक खाता खोलिएपछि उनीहरूले विभिन्न व्यक्तिहरूलाई ठगी गर्न प्रयोग गरेका थिए । ठगीको रकम बैंक खातामा जम्मा हुने र त्यसलाई विभिन्न तरिकाले प्रयोग गर्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडा का अनुसार, नागरिकता सम्बन्धी कसुर र ठगीसम्बन्धी जाहेरी परेपछि प्रहरीले गहिरो अनुसन्धान गर्दै दुबै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको आपराधिक गतिविधिमा संलग्नता थप खुल्न सक्ने भएकाले अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको छ ।
प्रहरीले पक्राउ परेका अभियुक्तहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीका अनुसार, उनीहरूले यसअघि पनि यस्तै आपराधिक गतिविधि गरेका हुनसक्ने आशंका गरिएको छ । सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्न अनुसन्धानलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया