गृहमन्त्री लेखीद्वारा सशस्त्र प्रहरी बरमझियाको भवन शिलान्यास, सुरक्षा सुदृढीकरणमा जोड

...

कञ्चनपुर, फागुन २८ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२, बरमझियामा अवस्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय अन्तर्गत सिनियर अधिकृत ब्यारेक तथा मेष भवनको शिलान्यास मधेश प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीले गर्नुभएको छ ।
बुधबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री लेखीले शिलान्यास गर्दै सुरक्षा निकायका भौतिक संरचनाको विकासमा सरकारले निरन्तर ध्यान दिने बताउनुभयो । उहाँले आगामी वर्षहरूमा सुरक्षा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत चालू आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ५० लाख रुपैयाँको लागतमा सिनियर अधिकृत ब्यारेक तथा मेष भवन निर्माण गरिने योजना रहेको छ । सरकारले सुरक्षा निकायलाई सशक्त बनाउन पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री लेखीले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा मन्त्री लेखीले समाजमा हुने जुनसुकै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई अझ सशक्त बनाइने नीति सरकारले अवलम्बन गर्ने बताउनुभयो । उहाँका अनुसार सुरक्षा चुनौतीहरू सामना गर्न विशेष प्रशिक्षण आवश्यक भएकाले सो शिक्षालयको निर्माण प्राथमिकतामा राखिएको हो ।
उक्त भवन निर्माणपछि सशस्त्र प्रहरी बललाई विशेष तालिम प्रदान गर्न सहज हुने तथा सुरक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास गरिएको छ । आधुनिक सुरक्षा रणनीतिअनुसार सशस्त्र प्रहरी बललाई तालिमसहित दक्ष र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य रहेको छ ।
शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बल, सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, कञ्चनरुप नगरपालिकाका उप–मेयर मुना पोखरेल, वडा नं. २ का अध्यक्ष मेहेदी हुसेन शेख, वडा नं. १२ का अध्यक्ष देवी बहादुर खत्री, सप्तकोसी नगरपालिका–२ का वडा अध्यक्ष जहुर हुसेन मंसुरी, वडा सदस्य दुर्गानन्द यादव, कमल किशोर गुप्ता लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरू उपस्थित थिए ।
उक्त अवसरमा उपस्थित वक्ताहरूले शिक्षालय निर्माणको आवश्यकता, उद्देश्य तथा यसले सुरक्षा क्षेत्रमा खेल्ने भविष्यका भूमिकाहरू बारे चर्चा गरेका थिए । सशस्त्र प्रहरी बलले विशेष कार्यका लागि दक्ष जनशक्ति उत्पादनमा यो शिक्षालय महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
सुरक्षा सुदृढीकरण तथा दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित अघि बढाइएको यो परियोजना आधुनिक सुरक्षा चुनौतीहरू सामना गर्न सहयोगी बन्ने विश्वास गरिएको छ । गृहमन्त्री लेखीले भवन निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिँदै सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा सरकारले निरन्तर ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 

प्रतिक्रिया