सप्तरीको छिन्नमस्तामा बिजुली सर्ट भएर आगलागी, १८ लाख बढीको क्षति

...

राजविराज, चैत्र ५ गते ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहान करिब ३ः४० बजे विद्युत् सर्ट भई स्थानीय चार परिवारका घरमा आगलागी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीको खबर इलाका प्रहरी कार्यालय सखडामा प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीका अनुसार, स्थानीय बासिन्दा देव नारायण पण्डित, रामेश्वर पण्डित, धनराज पण्डित र जुगेश्वर पण्डितका घर र गोठमा आगलागी हुँदा ठूलो क्षति भएको हो ।
देव नारायण पण्डितको दुई वटा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर, भाँडाकुँडा, मोवाइल सेट, पंखा, बिजुली मिटर, सुन ४ आना, चाँदी २० तोला जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, रामेश्वर पण्डितको घर, सामान, सुन ६ आना, चाँदी २५ तोला, दुई वटा खसी मृत, एक भैंसी र दुई पाडी घाइते हुँदा करिब ७ लाख बराबरको क्षति पुगेको छ ।
धनराज पण्डितको गोठ र भान्सा घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको छ । जुगेश्वर पण्डितको गाई गोठ जलेर करिब १ लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो बिहान ४ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
 

प्रतिक्रिया