राजबिराज, चैत्र ५ गते ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित महेन्द्र बिन्देश्वरी (मबिव) क्याम्पस, राजबिराजमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कुल १,२७२ मत खसेको छ । क्याम्पस प्रशासनका अनुसार कूल २,७३१ मतदाता रहेकोमा ६८९ जना छात्र र ५८३ जना छात्राले मतदान गरेका छन् ।
निर्वाचन प्रमुख नन्दकिशोर यादवले बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुकी ४ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभएको छ । मतदान स्थलमा सुरक्षाको दृष्टिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । कुनै पनि अप्रिय घटना नघटेको र सम्पूर्ण प्रक्रिया स्वच्छ वातावरणमा सम्पन्न भएको उहाँको भनाइ छ ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच प्यानलबीच प्रतिस्पर्धा भएको छ । समाजवादी विद्यार्थी युनियनबाट रञ्जित यादव, नेपाली विद्यार्थी संघ (नेविसंघ) बाट नितिश कुमार यादव, अनेरास्ववियुबाट मनिषा कुमारी साह, जनमत विद्यार्थी संघबाट त्रिवेणी कुमार यादव र स्वतन्त्र प्यानलबाट विनय कुमार यादव उम्मेदवार रहेका छन् । विद्यार्थीहरूमा मतदानको उत्साह उच्च देखिएको थियो । बिहानैदेखि विद्यार्थीहरू लाइनमा उभिएर आफ्नो मताधिकार प्रयोग गर्दै थिए ।
क्याम्पस प्रशासन, सुरक्षा निकाय, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूको समन्वयमा निर्वाचन शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सकिएको निर्वाचन प्रमुख यादवले जानकारी दिनुभयो ।
मतदान सकिएसँगै मतगणना तयारी थालिएको छ । निर्वाचन समितिका अनुसार मतगणना आज राति ८ बजेबाट सुरु हुनेछ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको छ ।
यस निर्वाचनले क्याम्पसमा विद्यार्थी राजनीति र नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यार्थीहरूको सहभागिता र अनुशासनले निर्वाचनलाई सफल बनाएको क्याम्पस प्रशासनले जनाएको छ ।
प्रतिक्रिया