गजेन्द्र नारायण सिंह अस्पतालमा डा. प्रकाश साहको पुनरागमन, सेवा सुधारको प्रतिबद्धता

...

राजविराज चैत  ७  गते । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा पुनः डा। प्रकाश साहले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूले एक विशेष कार्यक्रम आयोजना गरी डा. साहलाई भव्य स्वागत गरेका हुन्।

पदभार ग्रहण कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डाक्टर पशुपति चौधरी, अस्पतालका डा. दिलीप साह, विशेषज्ञ चिकित्सकहरू, शाखा प्रमुखहरू तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

डा। प्रकाश साह यसअघि २०७८ असार २७ देखि २०७९ कात्तिक १३ गतेसम्म गजेन्द्र नारायण सिंह अस्पतालको मेसुको रूपमा कार्यरत थिए। त्यसपछि उनी शुशिल कोइराला क्यान्सर अस्पताल, खजुरा बाँकेमा कार्यकारी निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका थिए।

नयाँ कार्यकालमा उनले अस्पतालको सेवा विस्तार, कर्मचारीहरूको मनोबल वृद्धिसहित सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य सेवा सुधारका लागि आवश्यक पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग र सेवा सहज बनाउन आवश्यक पहल गर्ने उनको योजना छ।

स्थानीय समुदायले पनि डा। साहको पुनः नियुक्तिले अस्पताल व्यवस्थापनमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। गजेन्द्र नारायण सिंह अस्पताल मधेश प्रदेशकै प्रमुख अस्पतालहरूमध्ये एक भएकाले यहाँका सेवाहरू अझ प्रभावकारी बनाउनुपर्ने मागसमेत उठ्दै आएको छ।

प्रतिक्रिया