राजविराज, चैत ७ गते – ईलाका प्रहरी कार्यालय कंचनपुर, सप्तरीका नवागंतुक प्रमुख डिएसपी माधव काफ्लेले अब प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट निवेदन लेखेर ल्याउनु नपर्ने बताएका छन्।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय महुलीमा बिहीवार आयोजित परिचयात्मक कार्यक्रममा उनले प्रहरी कार्यालयमै निवेदन लेख्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।
डिएसपी काफ्लेले भने, ‘बाहिर निवेदन लेख्दा पीडितको वास्तविक भावना आउन नसक्ने भएकाले सेवाग्राहीलाई सरल सेवा प्रदान गर्न प्रहरी कार्यालयमै निवेदन लेख्ने व्यवस्था मिलाइएको छ।’
उनले बाहिर निवेदन लेख्दा सेवाग्राहीलाई आर्थिक बोझ पर्ने, निवेदन लेख्न नजान्नेहरूले अन्याय सहेर बस्नुपर्ने अवस्था आउने भएकाले यस्तो कदम चालेको बताए। ‘निवेदन लेख्न नजानेकै कारण कोही अन्यायमा नपरून्, त्यसैले आफ्ना मातहतका कार्यालयहरूमा निःशुल्क निवेदन सेवा दिने व्यवस्था मिलाउँछु,’ उनले थपे।
डिएसपी काफ्लेले यस्तो व्यवस्थाले विचौलियाबाट पीडित ठगिन नपाउने विश्वास व्यक्त गरे। साथै, लागूऔषध तथा अवैध यौन धन्दा नियन्त्रणमा कडाइ गरिने भन्दै शान्ति सुरक्षा कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
स्थानीयहरूले महुली प्रहरी कार्यालयमा सवारीसाधन र जनशक्ति अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको बताएपछि, डिएसपी काफ्लेले ‘प्रहरी कार्यालयका लागि आवश्यक साधनस्रोत र जनशक्ति व्यवस्थापन गर्न पहल गर्नेछु,’ भन्ने प्रतिबद्धता व्यक्त गरे।
अपराध नियन्त्रणका लागि सरोकारवालाहरूसँग छलफल गरी अघि बढ्ने बताउँदै उनले भने, ‘जो कोही अटेर गर्छ, उसलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ।’
डिएसपी काफ्लेले आगलागी जस्ता विपद् रोक्न समुदाय स्तरबाट नै सतर्कता अपनाउन आग्रह गरे।
परिचयात्मक कार्यक्रममा इलाका प्रहरी कार्यालय महुलीका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया