सिरहा,चैत्र ८ गते ।
सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।
गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलीप यादवलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका छन्। उनले भने, “प्रहरीद्वारा उनीहरूलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको हो र शनिबार पीडित परिवारसँग जाहेरी लिने प्रक्रिया अघि बढाइएको छ।”
सिरहाको औरही–५ का दलित परिवारका सदस्य दीपक मलिक डोमको घर महायज्ञको आयोजनाका कारण भत्काइएको थियो। आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित व्यक्तिहरूको बसोबास गर्न नदिने आदेश दिएका थिए। उक्त आदेशको आधारमा गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर दीपकको घर भत्काएका थिए। यस घटनामा, घर भत्काउन मात्र होइन, दलित बस्ने स्थानको माटोसमेत ताछेर फालिएको थियो।
महायज्ञको आयोजना गर्ने बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादवको नेतृत्वमा एक समूहले दलित परिवारलाई गाउँको बाहिर, मानव बस्तीभन्दा टाढा एकान्त स्थानमा टहरो बनाइदिएको थियो। ३० वर्षदेखि उक्त स्थानमा बस्दै आएका विपन्न डोम परिवारलाई ५ वर्षअघि गाउँपालिकाको समन्वयमा केन्द्र सरकारको बजेटमा ‘जनता आवास कार्यक्रम’ मार्फत दुईकोठे पक्की घर बनाइदिएको थियो, तर फागुन १० मा गाउँपालिकाले डोजर पठाएर उक्त घर भत्काएको थियो।
प्रतिक्रिया