कञ्चनरुपमा मृतक ऋणीको परिवारलाई बीमा रकम, ३ लाख १७ हजारको चेक प्रदान

...

कञ्चनपुर, चैत्र ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी स्वर्गीय राजवत्ति सरदारको परिवारलाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, कञ्चनपुर शाखाले बीमा क्षतिपूर्ति रकम प्रदान गरेको छ । बुधबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
अवलोकित दैनिकका सम्पादक भोला पासवानले मृतकका पतिलाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा कञ्चनरुप–११ का पूर्व वडाध्यक्ष मोहम्मद जिब्रिल, स्थानीय समाजसेवी पवन सरदार तथा महिला समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाले 
सामुदायिक भवनमा आयोजित कार्यक्रममा गोरपार महिला समूह (ख) की सदस्य रहेकी स्वर्गीय राजवत्ति सरदारका परिवारलाई बीमा वापतको रकम प्रदान गरेको हो । 
बिगत १० बर्ष देखि निरन्तर कर्जा तथा बचत कारोबार गर्दै आइरहेकी सरदारले संस्थाबाट २ लाख ३० हजार रुपैयाँ ऋण लिएकोमा ८० हजार ४ सय ८ रुपैयाँ तिर्न बाँकी रहँदै उनको मृत्यु भएको थियो । ऋण जोखिम बीमाका कारण बीमा कम्पनीले ३ लाख ९५ हजार ३ सय ४६ रुपैयाँ उपलब्ध गराएको थियो । 
बाँकी ऋण कटौती गरेपछि संस्थाले स्वर्गीय सरदारका परिवारलाई ३ लाख १७ हजार रुपैयाँको चेक प्रदान गरेको शाखा प्रमुख अजय कुमार मेहताले जानकारी दिए ।कार्यक्रममा संस्थाका लेखापाल राम दिनेश मेहताले सहभागिहरुलाई स्वागत गरेका थिए ।
राजवत्ति सरदारको २०८१ साउन १२ गते निधन भएको थियो । कार्यक्रमका क्रममा मृतकप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शाखा प्रमुख मेहताले महिला समूहका सदस्यहरूलाई ऋण समयमा चुक्ता गर्न आग्रह गरे । प्रमुख अतिथि सम्पादक पासवानले वित्तीय संस्थाबाट लिएको ऋणको सही सदुपयोग गर्न तथा पारिवारिक आर्थिक व्यवस्थापनमा सचेत हुन सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा सहभागीहरूले वित्तीय संस्थाहरूबाट लिइने ऋण तथा बीमा योजनाबारे सचेतना बढाउनु आवश्यक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए । 
 

प्रतिक्रिया