कञ्चनपुर, चैत्र ९ गते ।
अग्निसाईरकृष्णासवरन — कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी भोला पासवानले जातीय संगठनहरू समय अनुसार परिवर्तनशील रहनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सप्तरीको अग्निसाईरकृष्णासवरन गाउँपालिका–२, सितापुरमा शनिबार आयोजित नेपाल बाँतर समाज कल्याणकारणी तथा नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रको संयुक्त ५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पासवानले शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचका लागि बाँतर समुदाय एकजुट भई संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विगतका स्थानीय निर्वाचनको उदाहरण दिँदै बाँतर समुदायको राजनीतिक सहभागिता पछिल्ला वर्षहरूमा घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । “२०७४ सालको निर्वाचनमा सप्तरीमा तीन उपप्रमुखमध्ये दुई जना सरदार समुदायबाट निर्वाचित भए, तर पछिल्लो चुनावमा एक जना पनि जित्न सकेनन् । यो हाम्रो आन्तरिक कमजोरी पनि हो,” पासवानले भन्नुभयो । उहाँले दलहरूले बाँतर समुदायलाई राजनीतिक रूपमा अघि बढ्न सिढीका रूपमा प्रयोग गरे पनि अन्तिम समयमा टिकट नदिएको, र टिकट पाएका उम्मेदवारहरू आफ्नै समुदायबाट हराइने अवस्थाले थप समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा नेपाल बाँतर समाज कल्याणकारणी समितिका केन्द्रीय सभापति मोहनलाल सरदारले बाँतर समुदाय अझै पनि सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा पछाडि परेको बताउनुभयो । उहाँले समुदायभित्र सुधार आवश्यक रहेको धारणा राख्नुभयो । “हामी बाहिर मात्रै दोष दिएर हुँदैन, आफैंमा पनि सुधार गर्नुपर्ने धेरै कुरा छन्,” उहाँले भन्नुभयो ।
नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका महासचिव तथा कार्यवाहक अध्यक्ष श्याम सरदारले बाँतर जाति सामाजिक रूपले अपहेलित, आर्थिक रूपले शोषित र शैक्षिक रूपमा वञ्चित रहेको बताए ।
यस्तै, मधेश प्रदेश समितिका संयोजक बौवालाल सरदारले शिक्षा क्षेत्रमा सुधार नभएसम्म समुदायको समग्र सुधार असम्भव रहेको धारणा राख्नुभयो । प्रदेश अध्यक्ष सरदारले दुई वटा संगठनलाई एकीकरण गर्न आफुले खेलेको भूमिकाबारे चर्चा गर्दै आगामी राष्ट्रिय महाधिवेशनले नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष मखनलाल सरदार, केन्द्रीय महासचिव कपलेश्वर सरदार, जिल्ला सभापति जुक्ति सरदार, बीएल सरदार, कक्षा ७ मा अध्ययनरत समीक्षा सरदार लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा दलित समुदायका अधिकार सुनिश्चित गर्न कानुनी जानकारी आवश्यक रहेको सुझाव दिइयो भने शिक्षा, स्वास्थ्य, बालविवाह अन्त्य, दाइजो प्रथाको खारेजी लगायत विषयमा पनि छलफल गरिएको थियो ।
सम्मेलनमा जिल्लाभरका बाँतर समुदायका अगुवा, पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया