बिचौलिया मुक्त सेवा: डीएसपी माधव काफ्लेले दिए पारदर्शिता र कानून पालना सुनिश्चित गर्ने प्रतिबद्धता

...

कञ्चनपुर,चैत्र ११ गते  ईलाका प्रहरी कार्यालय कञ्चनपुरका नव नियुक्त प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले सर्वसाधारण जनतालाई सेवा लिन कुनै बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले सेवाग्राहीलाई सहज र बिचौलिया मुक्त सेवा प्रदान गर्ने आफ्नो प्राथमिकता भएको स्पष्ट पारे। मेरो कार्यकक्षको ढोका सर्वसाधारणका लागि सधैं खुला रहनेछ। समस्यामा परेका सेवाग्राहीहरू बिना कुनै हिचकिचाहट आफ्नो गुनासो लिएर मसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने वातावरण निर्माण गर्छु,” डीएसपी काफ्लेले भने। बिचौलियाहरूको प्रभाव अन्त्य गर्न कार्यालय परिसरमा 'बिचौलियाहरूलाई प्रवेश निषेध' भन्ने सूचना बोर्डसमेत राख्ने योजना रहेको उनले बताए।

परिचयात्मक कार्यक्रममा अवलोकित दैनिक पत्रिकाका सम्पादक भोला पासवानले इलाका प्रहरी कार्यालयमा विद्यमान समस्या र सुधार आवश्यकताबारे धारणा राखे। उनले भने, “प्रहरीबाट सेवा लिन आउने सर्वसाधारणले पैसा बिना कुनै काम नहुने गुनासो गरिरहेका छन्। यसलाई सुधार गर्न आवश्यक छ।पासवानले बरमझिया क्षेत्रमा बढ्दो दुर्घटना, लागुऔषध कारोबार, होटल तथा लजहरूमा फैलिएको अवैध यौन व्यवसाय, बालुवा तस्करी, तथा महिला हिंसाजस्ता गम्भीर समस्याहरूबारे जानकारी गराए।

पत्रकारहरूले उठाएका विषयलाई सम्बोधन गर्दै डीएसपी काफ्लेले सेवाग्राहीलाई निःशुल्क निवेदन लेख्न व्यवस्था गरिएको र मातहतका सबै प्रहरी चौकीमा पनि उक्त व्यवस्था कार्यान्वयन गरिएको जानकारी गराए। उनले भने, “मैले सेवा पारदर्शी र जनमैत्री बनाउन निरन्तर अनुगमन गरिरहेको छु। कञ्चनपुरका होटलमा व्याप्त अवैध यौन व्यवसाय रोक्न म सक्रिय छु। यहाँ आएपछि नै होटल व्यवसायीलाई बोलाएर चेतावनी दिइसकेको छु। अब अनुगमनमा अवैध गतिविधि भेटिएमा कडा कानुनी कारबाही हुन्छ।

कार्यक्रममा अनुरोध मिडिया प्रा. लि. का सम्पादक राजकुमार पासवानले बढ्दो अनैतिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी प्रशासनले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। उनले प्रहरी प्रशासनलाई बिचौलियाहरूबाट सावधान रहन सुझाव दिँदै थानाको वरिपरि 'बिचौलियाहरू देखी सावधान' भन्ने सूचनासहितको बोर्ड राख्न आग्रह गरे।

डीएसपी काफ्लेले स्थानीयहरूको गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कानूनको पालना र पारदर्शी सेवा प्रदान गर्न प्रहरी सधैं तत्पर रहने उल्लेख गरे। त्यसैगरी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लेख बहादुर बिस्टले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने तथा गैरकानुनी गतिविधिमाथि कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पत्रकारहरू अनिल पोखरेल, किशोर पासवान, अनिश शेख, शिव अर्चाय, कैलाश माझी, उत्तम अर्चायलगायतको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया