सिरहा, चैत्र १२ गते ।
गत फागुन २९ गतेदेखि हराइरहेकी १३ वर्षीया गुलशना खातुनको शव जुटको बोरामा बेरिएर तीन फिट मुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका–९, गोविन्दपुरकी बालिका गुलशना उक्त दिन बिहान ९ बजे घर बाहिर निस्केपछि बेपत्ता भएकी थिइन् ।
मंगलबार बिहान स्थानीय गोठालाहरुले झाडीछेउबाट दुर्गन्ध आएको भन्दै जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । घटनाबारे बोल्दै गोलबजार–९ का पूर्व वडाध्यक्ष रामपुकार कामतीले भने, “गाउँभरि बालिका हराएको खबर फैलिएको थियो । त्यसैबीच, झाडीबाट आएको गन्धले स्थानीयको आशंका बढ्यो, जुन दुर्भाग्यवश सत्य साबित भयो । गुलशनाको शव बोरामा बेरिएर खाडलभित्र गाडिएको अवस्थामा फेला पर्यो ।”
प्रहरी उपरीक्षक सन्त बहादुर बाखुका अनुसार, शव तीन फिट मुनि गाडिएको अवस्थामा थियो । अपराधीहरूले लास छिटो गलोस् भन्ने उद्देश्यले खाडलमा नुन हालेको पाइएको छ । शव अत्यधिक कुहिएको कारण पहिचान गर्न गाह्रो भए तापनि कपडा र शरीरको बाँकी रहेको आकृतिबाट हराएकी बालिका नै हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि सिरहा अस्पताल पठाउने तयारी गरेको छ ।
गुलशनाका आमा जाहेदा खातुनले छोरी हराएको दुई दिनपछि, चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन् । सात दिनसम्म छोरीको अत्तोपत्तो नलागेपछि उनले पत्रकारलाई गुहार गरेकी थिइन् । जाहेदा खातुनले प्रहरीलाई अनुसन्धानमा ढिलासुस्ती गरेको आरोप लगाउँदै भनिन्, “प्रहरीले बालिकाको खोजीमा पर्याप्त मेहनत गरेको भए मेरी छोरी जिउँदै फेला पर्ने थिइन् ।”
यसैबीच, चैत ६ गते प्रहरी नायव उपरीक्षक बाखुले गुलशनाको खोजीबारे जानकारी दिँदै भनेका थिए, “गुलशनालाई छिमेकी जिल्लामा लगिएको सुराग पाएका छौं । चाँडै उद्धार गर्छौं ।” तर, अन्ततः प्रहरी बालिकाको उद्धार गर्न असफल रह्यो । नायव उपरीक्षक बाखुले अनुसन्धान अझै जारी रहेको र अपराधी पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् ।
गुलशनाको शव भेटिएपछि आमा जाहेदा खातुन तथा उनको परिवार गहिरो शोकमा डुबेको छ । उनी इन्तु न चिन्तु भएकी छन् भने सिंगो गोविन्दपुर गाउँ नै स्तब्ध बनेको छ । स्थानीयले अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्ने माग राख्दै घटनाप्रति रोष प्रकट गरेका छन् ।
गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । यसअघि उनी नजिकैको मदरसामा पढ्थिन् । निर्दोष बालिकाको विभत्स हत्या र प्रहरीको भूमिका प्रति जनस्तरबाट चर्को आलोचना भइरहेको छ । घटनाको विस्तृत अनुसन्धान जारी छ ।
प्रतिक्रिया