राजविराज, चैत्र २३ गते
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले समाजमा अझै पनि लैङ्गिक हिंसा कायम रहनु दुःखद र चिन्ताजनक अवस्था भएको बताएका छन् ।
शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालयको सभाकक्षमा आयोजित लैङ्गिक उत्तरदायी अनुसन्धान तथा सञ्चार सीपसम्बन्धी तालिमको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साहका अनुसार, महिलाहरूको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । “देशको ५१ प्रतिशत जनसंख्या महिलाहरू हुन् । उनीहरूको सशक्तिकरण र समान सहभागिता सुनिश्चित नगरी समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन,” उनले भने ।
लैङ्गिक हिंसाको अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकार तीनै तहले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता रहेको मन्त्री साहको भनाइ थियो । महिलालाई शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरूमा सशक्त बनाउनु मुलुकको दिगो विकासको आधार हो भन्ने धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले पनि लैङ्गिक हिंसा न्यूनीकरणमा प्रहरी प्रशासनले खेलेको भूमिका र आगामी योजना प्रस्तुत गरे ।
नेपाल सरकार र एशियाली विकास बैंकको साझेदारीमा सञ्चालित महिला सशक्तिकरण परियोजना अन्तर्गत नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई लैङ्गिक अपराध अनुसन्धानसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले ६ दिने तालिम सञ्चालन गरिएको थियो ।
गत चैत्र १७ गतेदेखि सुरु भएको तालिममा ३० जना प्रहरीलाई सेक्सुअल अफेन्स, एकाउन्टिबिलिटी, डोमेस्टिक भ्वाइलेन्स, जेन्डर इक्विटी, सोसल इनक्लुजन, कानुनी प्रावधान लगायत १४ विषयमा विशेषज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा नेपाल प्रहरीको सहकार्यमा सम्पन्न भएको मन्त्रालयकी अधिकृत दिपिका सिटौलाले जानकारी दिइन् ।
प्रतिक्रिया