चार पार्टीको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न, उत्पीडित समुदायका पक्षमा नयाँ मोर्चा निर्माणको संकेत

...

जनकपुरधाम, चैत्र २४ गते
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीको संयुक्त आयोजनामा जनकपुरस्थित क्राउन प्लाजा होटेलमा आज एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्ने र वैकल्पिक राजनीतिक मोर्चा निर्माणका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा चारै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो भने सयौं पार्टी कार्यकर्ताहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै थप अधिकार सुनिश्चित गर्ने मार्गचित्र तयार पार्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

विशेष सम्बोधन गर्ने नेताहरूमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री माननीय रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन कुमार रंजन, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, तथा जनजागृति पार्टीका अध्यक्ष डि.पी. सहनी निषाद रहनु भएको थियो।

उहाँहरूले वर्तमान राज्य व्यवस्थाले उत्पीडित समुदायलाई समुचित प्रतिनिधित्व दिन नसकेको आरोप लगाउँदै वैकल्पिक राजनीतिक धाराको निर्माण अपरिहार्य भएको बताउनुभयो।

पूर्ण समानुपातिक प्रतिनिधित्व प्रणालीको कार्यान्वयन, उत्पीडित समुदायको आवाज बुलन्द गर्ने, र राजनीतिक शुद्धता तथा जवाफदेही नेतृत्वको स्थापना कार्यक्रमका मुख्य प्रतिबद्धताहरूका रूपमा प्रस्तुत गरियो।

कार्यक्रमको अध्यक्षता नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले गर्नुभयो भने सञ्चालन बहुजन एकता पार्टी नेपालका सह–महासचिव प्रकाश मेहराले गर्नुभएको थियो।

अन्य विशिष्ट वक्ताहरूमा प्रदेशसभा सदस्य बिमला अन्सारी, महासचिव अनन्त क्रान्ति, नेता सिताराम साह, बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान, महासचिव सुरज मेहरा, कोषाध्यक्ष लक्ष्मी मण्डल, सचिव जितेन्द्र राम, सद्भावना पार्टीका नेता रामचन्द्र महतो तथा जनजागृति पार्टीका नेता भोजेन्द्र सहनी रहेका थिए।

कार्यक्रमले उत्पीडित वर्गका आवाजलाई एकताबद्ध गर्दै साझा एजेण्डा तय गर्न पहल थालिएको स्पष्ट संकेत दिएको छ। चार दलबीचको सहकार्य आगामी दिनमा औपचारिक गठबन्धनमा रूपान्तरण हुने संकेत समेत गरिएको छ।

प्रतिक्रिया