कञ्चनपुर, चैत्र २४ गते ।
नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आइतबार रामनवमीको अवसर पारेर मधेसका मसिहा तथा अग्रगामी राजनेता गजेन्द्र नारायण सिंहको ९६औं जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री साहले सप्तरी जिल्लाका विभिन्न स्थानहरूमा स्थापना गरिएका सिंहका सालिकहरूमा माल्यार्पण गर्दै उनको योगदानलाई स्मरण गरेका हुन् ।
सद्भावना पार्टीका संस्थापक अध्यक्षसमेत रहेका स्व. सिंहको सम्मानमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ स्थित रामपुर, वडा नम्बर ४ मा रहेको मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सालिकहरूमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे । यी तीनै स्थानमा सिंहको स्मृतिमा स्थापना गरिएका सालिकहरू मधेस आन्दोलन र पहिचानका प्रतीकका रूपमा चिनिन्छन् ।
कार्यक्रममा मन्त्री साहसँगै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, युवा नेता, महिला प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । उपस्थित सहभागीहरूले मधेसी समुदायको हक–अधिकारका पक्षमा गजेन्द्र नारायण सिंहले गरेको संघर्ष, नेतृत्व र योगदानलाई गहिरोसँग स्मरण गरे ।
कार्यक्रमका वक्ताहरूले गजेन्द्र नारायण सिंहलाई मधेसको आवाज, आत्मसम्मान र पहिचानका निम्ति सदैव अग्रपङ्क्तिमा उभिएका नेता भनेर चित्रित गरे । उनीहरूले अहिलेको राजनीतिक परिस्थितिमा सिंहको विचार र आदर्शहरू झनै सान्दर्भिक रहेको बताए । वक्ताहरूले सिंहको राजनीतिक जीवनले सम्पूर्ण राष्ट्रलाई समावेशी बनाउने दिशामा पारेको प्रभावबारे पनि प्रकाश पारे ।
मन्त्री साहले स्व. सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने, “गजेन्द्र नारायण सिंहजस्ता नेताहरूको योगदानलाई सम्झनु केवल औपचारिकता होइन, यो हामीले राष्ट्र निर्माणको यात्रामा देख्नुपर्ने मार्गदर्शन हो ।”
कार्यक्रममा सहभागी केही युवाहरूले भने, गजेन्द्र नारायण सिंहको जीवनी, योगदान र विचारलाई विद्यालय र विश्वविद्यालय स्तरमा पाठ्यक्रमको रूपमा समावेश गर्नुपर्ने माग पनि गरेका थिए । उनीहरूले मधेसका मुद्दा उठाउने क्ष्लनजको योगदानलाई राष्ट्रिय इतिहासमा पर्याप्त स्थान दिनुपर्ने धारणा राखे ।
गजेन्द्र नारायण सिंहलाई मधेसी समुदायले ’मधेसी जनअधिकारका अगुवा’, ’अधिकारका प्रेरणास्रोत’ र ’संघर्षशील नेता’का रूपमा स्मरण गर्दै आएका छन् । उनले जीवनभर समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको पक्षमा संघर्ष गरेका थिए । उनको नेतृत्वमा स्थापित सद्भावना पार्टीले लामो समयसम्म मधेसको अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ ।
जन्मजयन्तीको अवसरमा गरिएको माल्यार्पण कार्यक्रमले गजेन्द्र नारायण सिंहप्रतिको सम्मान मात्र होइन, नयाँ पुस्ताले उनको योगदानबाट प्रेरणा लिनुपर्ने सन्देश पनि दिएको सहभागीहरूले बताएका छन् ।
प्रतिक्रिया