कञ्चनपुर,चैत्र २६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१ स्थित बैरवामा रहेको श्री लक्ष्मी नारायण उच्च माध्यमिक विद्यालयका लागि २ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहले गैरसरकारी संस्थामार्फत उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
बैरवामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री शाहले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि बजेट स्वीकृत गरिएको जानकारी गराउँदै भने, “शिक्षाको गुणस्तर सुधार र भौतिक संरचना मजबुत बनाउन यो बजेट महत्वपूर्ण हुनेछ ।”
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री शाहले विकास निर्माणका लागि स्थानीय तहमा आफ्नै समूहका प्रतिनिधिहरू हुनु आवश्यक रहेको उल्लेख गरे । उनले भने, “यदि विकास गर्नु छ भने वडादेखि नगरपालिकासम्म आफ्ना मान्छे हुनुपर्छ । जबसम्म मेयर आफ्नै मान्छे हुँदैन, तबसम्म विकास सम्भव हुँदैन । म बजेट त ल्याउँछु, तर कार्यान्वयनका लागि आफ्ना प्रतिनिधि चाहिन्छन् ।”
कार्यक्रममा कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती व्यवस्थापन समिति, बैरवाका अध्यक्ष हस्मुद्दिन शेखले बैरवावासीको तर्फबाट विभिन्न समस्या मन्त्री समक्ष राखेका थिए ।
उनका अनुसार हात्ती, बँदेल, आर्नाजस्ता वन्यजन्तुका आक्रमणका कारण घाइते र मृत्यु हुने घटनाहरू बढ्दो क्रममा छन् । उनले वन्यजन्तु आक्रमणमा ज्यान गुमाउने परिवारलाई रु. १० लाख क्षतिपूर्ति, पीडित परिवारका सन्तानलाई सरकारी रोजगारी, तथा विद्युत् शुल्कमा राहत दिनुपर्ने माग राखे ।
त्यसैगरी, शेखले त्रियुगा नदीमा बालुवाको थुप्रोले पानीको बहाव अवरुद्ध भएर बाढी गाउँ पस्ने समस्या रहेको उल्लेख गर्दै त्यसले स्थानीय कृषकको धानबाली नष्ट गर्ने गरेको बताए । साथै, खोलाबाट दाउरा संकलन गर्न गएकाहरूलाई सेना र प्रहरीले नियन्त्रणमा लिने गरेको भन्दै स्थानीयवासी पीडित भएको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री नवल किशोर शाह ‘राम बाबू’ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी भोला पासवान, हनुमाननगर कंकालिनी नगरपालिकाका समाजसेवी सुमित शाह तथा जसपाका जिल्ला सदस्य मो. जिबरिल, अर्जुन पझियार, रामदेव शर्मा लगायत अन्य स्थानीय अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।
त्यस्तै, समाजसेवी अनिल पझियार, तमिज शेख, उमर शेख, कादिर शेख, आरिफ शेख, यासिर शेख, अर्जुन यादव, सम्पैत खंग तथा अबलोकन दैनिकका पत्रकार किशोर पासवान र अनिश शेख पनि कार्यक्रममा सहभागी थिए ।
प्रतिक्रिया
Rajkumar khang
२0८१ चैत्र २५ गते १६:३१
बैरवा स्कुलमा ईंग्लिश medium बाट पढाउने बेवास्ता मिलाउन संबंधित निकाई लाई अनुराेध गरदछु।धन्यवाद
जवाफ दिनुहोस्