कञ्चनपुर, चैत्र २६ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं –६ स्थित, बलुवामा मंगलबार टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।
फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र१–०२–००१ क ३९९८ नम्बरको टिपर र फत्तेपुरतर्फ जाँदै गरेको प्र२–०१–००१ प ३५४४ नम्बरको मोटरसाइकल साइकललाई जोगाउने क्रममा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका–९ का २५ वर्षीय धर्मराज मण्डल गम्भीर घाइते भएका छन् । उनको अनुहार र घुँडामा चोट लागेको छ। उनलाई प्रहरीले ठेलियास्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाएको छ ।
इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार साइकल चालक फरार रहेका छन् भने उनको पहिचान खुल्न बाँकी छ । यस्तै, घटनामा संलग्न टिपर चालक सुनसरी इनरुवा नगरपालिका–८ का २५ वर्षीय रमानन्द साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अधिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया