कञ्चनपुर, चैत्र २६ गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह कञ्चनरुप नगरपालिका–१ स्थित बैरवामा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय जनतासँग प्रत्यक्ष संवादमा उत्रिएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री साहले विकासलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तहमा आफ्ना विश्वासपात्र प्रतिनिधिको आवश्यकता पर्ने धारणा व्यक्त गरे । उनले भने, “विकास गर्नुछ भने वडामा आफ्नै मान्छे हुनुपर्छ । तर यो कञ्चनरुप नगरपालिकामा न मेरो वडा अध्यक्ष छन्, न मेयर । योजना त आउँछ, तर तिनीहरूले आफूअनुकूल सञ्चालन गर्छन् ।”
यद्यपि, स्थानीय सरकारमा आफ्ना पक्षका जनप्रतिनिधि नभए पनि आफूले कञ्चनरुप–१ मा उल्लेखनीय विकासको काम गरेको दाबी गर्दै उनले मठ–मन्दिर निर्माणदेखि बाटो, घाट जस्ता पूर्वाधारका थुप्रै योजना सम्पन्न भइसकेको जानकारी दिए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी भोला पासवानले अघिल्लो कार्यकालमा एउटै वडाबाट तीनजना क्याबिनेट मन्त्री हुँदा पनि कञ्चनरुपको अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे । उनले मन्त्री साहको विकासप्रति सक्रियता र प्रतिबद्धताको प्रशंसा गर्दै भने, “माननीय मन्त्री साहले आफ्नो क्षेत्रमा जति विकास गरेका छन्, मलाई लाग्दैन अरु कुनै मन्त्रीले त्यति गरेका छन् ।”
पासवानले मन्त्री साहले अघिल्लो समयमा करिब २ सय एकल महिलालाई ब्ल्याङ्केट वितरण गरेको पनि स्मरण गरे । साथै मन्त्री काठमाडौंमा हुँदा पनि जनताको समस्या बुझ्न सदैव तत्पर रहेको बताउँदै, आगामी दिनमा सुमित साहले कञ्चनरुपको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
जनसंवाद कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । मन्त्री साहले जनताको आवाजलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा जसपा पार्टीका जिल्ला सदस्य मो. जिबरिल, अर्जुन पझियार, तमिज शेख, उमर शेख, कादिर शेख, आरिफ शेख, यासिर शेख, अर्जुन यादव, सम्पैत खंग लगायतको उपस्थिति रहेको थियो । साथै अबलोकिद दैनिकका पत्रकार किशोर पासवान र अनिश शेख पनि सहभागी थिए ।
कार्यक्रमको स्वागत मन्तव्य रामदेव शर्मा खङ्गले दिएका थिए भने कार्यक्रम सञ्चालन अनिल पन्जियारले गरेका थिए ।
प्रतिक्रिया