कञ्चनपुर, चैत्र २६ गते ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहले कोशीटप्पु वन्यजन्तु आरक्षका अध्यक्ष हस्मुद्दिन शेखसँग उहाँकै निवासमा भेटघाट गर्नुभएको छ । भेटका क्रममा मन्त्री शाहले आरक्ष क्षेत्रबाट आउने अर्ना, बँदेल र हात्ती जस्ता वन्यजन्तुहरूका कारण किसानहरूको बालीनालीमा भइरहेको क्षतिको विषयमा गम्भीर चासो व्यक्त गर्नुभयो ।
मन्त्री शाहले अध्यक्ष शेखसँग छलफल गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।
अध्यक्ष शेखका अनुसार, वन्यजन्तुहरूको आक्रमणका कारण मानवीय क्षति समेत भइरहेको छ । “प्रत्येक वर्ष घाइते र मृत्य हुने घटनाहरू दोहोरिरहेको छ । यस्तो अवस्थामा मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुका साथै पीडित परिवारका सन्तानलाई सरकारी रोजगारीमा समावेश गरिनु पर्छ,” अध्यक्ष शेखले बताए । साथै उनले वन्यजन्तु पीडित परिवारलाई विद्युत् शुल्कमा पनि राहत दिनुपर्ने माग राखे ।
त्यस्तै, तिरयुगा खोलामा बालुवा थुप्रिँदा पानीको निकास अवरुद्ध भई बाढी गाउँतर्फ पस्ने समस्या बढिरहेको र यसले किसानहरूको धानबालीमा गम्भीर क्षति पु¥याएको विषयमा पनि अध्यक्ष शेखले मन्त्रीको ध्यानाकर्षण गराए । साथै, बैरवाका स्थानीय बासिन्दाहरू खोलाबाट दाउरा टिप्न जाँदा सेना तथा सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेकोप्रति गुनासो गर्दै उनले स्थानीय जनताको पीडामा सरकारको ध्यान जानु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि रूपमा सहभागी कञ्चनरुप नगरपालिकाका प्रत्यासी उम्मेदवार भोला पासवानले वन्यजन्तुको अतिक्रमणका कारण आरक्षको आसपासका हजारौं बिघा खेतीयोग्य जमिन बाँझो बन्न पुगेको भन्दै त्यसको समाधानका लागि तुरुन्त कदम चाल्न आग्रह गरे ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर सुमित शाह, जसपा पार्टीका जिल्ला सदस्य मो. जिबरिल, अर्जुन पझियार, समाजसेवी अनिल पझियार, तमिज शेख, उमर शेख, कादिर शेख, आरिफ शेख, यासिर शेख, अर्जुन यादव, सम्पैत खंगसहित स्थानीय नेता तथा पत्रकार किशोर पासवान र अनिश शेखको उपस्थिति रहेको थियो ।
स्थानीय समस्याहरूको स्थायी समाधानका लागि यस किसिमको संवाद र पहल आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।
प्रतिक्रिया