दलित महिलामाथि बढ्दो हिंसा, दलित सरोकार मञ्च नेपालद्वारा दोषीमाथि कडा कारबाहीको माग

...

कञ्चनपुर, वैशाख ३ – सप्तरी जिल्लामा दलित महिलामाथि भएका पछिल्ला दुइ घटनाले आम जनमानसमा आक्रोश सिर्जना गरेको छ। सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया पूजा कुमारी रामको अपहरणपछि हत्या र नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको आत्महत्यासम्म पुग्नुपरेको परिस्थितिलाई लिएर दलित सरोकार मञ्च नेपालले कडा विरोध जनाएको छ।

मञ्चका कार्यकारी निर्देशक भोला पासवानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “पूजा कुमारी रामको नयाँ वर्षकै दिन घरबाट अपहरण गरी भोलिपल्ट पोखरीको छेउमा शव फेला पर्नु योजनाबद्ध आपराधिक कृत्य हो, जसले फेरि एकपटक दलित चेलीहरूको सुरक्षा र राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ।”

त्यस्तै, चार महिनाअघि बलात्कार प्रयासबाट बच्न सफल भएकी आनन्दीदेवी सदायले किटानी जाहेरी दिंदा समेत प्रहरीले समयमै कारबाही नगरेको र पिडकसँग मिल्न दवाव आएको उल्लेख गर्दै मञ्चले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ। पीडित महिला अन्ततः माइतीघरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

दलित सरोकार मञ्चले विज्ञप्तिमार्फत प्रदेश र संघीय सरकार, मानव अधिकार आयोग र सुरक्षासम्बन्धी निकायलाई तुरुन्त हस्तक्षेप गर्न आह्वान गरेको छ। विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडित परिवारलाई सुरक्षासहित राहत तथा क्षतिपूर्ति दिन, अनुसन्धान निष्पक्ष र छिटो सम्पन्न गर्न तथा मधेसमा दलित चेलीहरूको सुरक्षा सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन माग गरिएको छ।

“दलित महिलाहरू वर्षौँदेखि बलात्कार, हिंसा र हत्याको शिकार हुँदै आएका छन्, तर पीडितले न्याय नपाउने, दोषी उम्कने र राज्य मौन बस्ने प्रवृत्तिले समाजमा गहिरो असुरक्षा र विभेदको अनुभूति बढाएको छ,” विज्ञप्तिमा भनिएको छ।

मञ्चले यी घटनालाई सामाजिक न्याय, समानता र मानव अधिकारका दृष्टिकोणबाट लिन आग्रह गर्दै राज्य संयन्त्रलाई निष्पक्ष र संवेदनशील भएर काम गर्न चेतावनी दिएको छ।

प्रतिक्रिया