कञ्चनपुर हटियामा ग्यास सिलिन्डर विस्फोट हुँदा घरमा आगलागी, दुई जना घाइते

...

कञ्चनपुर, असार ३ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुर हटियामा ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा दुई जना घाइते भएका छन् भने करिब २ लाख ४५ हजार बराबरको धनमाल क्षति भएको छ।
 स्थानीय योगेन्द्र साहको भाडामा दिइएको फुसको छानो र जस्ताले छाएको दुई कोठे घरमा मंगलबार बिहान करिब ६:३० बजे खाना पकाउने क्रममा सुबिधा ग्यास सिलिन्डर विस्फोट भएको हो। सोही घरमा बसोबास गर्दै आएका कामदार कृष्ण चौधरी र उनकी श्रीमती कञ्चन चौधरी सामान्य घाइते भएको र अहिले कंचनपुर नगर अस्पतालमा उपचार भइरहेको साहले जानकारी दिए ।
 साहका अनुसार सो घरमा हटियाका व्यापारीहरूले लत्ता-कपडा, जुत्ता–चप्पल लगायतका सामान भण्डारण गरेका थिए। विस्फोटपछि आगलागीले ती सबै सामग्री जलेर नष्ट भएका छन् ।
 व्यापारी लक्ष्मण खङ्गको ४० हजार, मजनि देवी खङ्गको ९० हजार, घरधनी योगेन्द्र साहको ७० हजार बराबरको २ घर सहित सामग्री जलेको छ। साथै, घाइते चौधरीको ४५ हजार रुपैयाँ नगद पनि जलेको बताइएको छ।
 स्थानीयबासी र कन्चनरुप नगरपालिकाको बारुन यन्त्र सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीबाट करिब २ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया