कञ्चनरुपका मेयरको ‘माया पाएका’ शंकर र भृकुटी माविको एसईई नतिजा अत्यन्तै निराशाजनक

...

कञ्चनरुप(सप्तरी) असार १७ गते । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका संयोजक ललन प्रसाद गुप्ताले ‘विशेष माया’ देखाउँदै आएका दुई सरकारी विद्यालयको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नगरकै शैक्षिक व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। अत्यन्त नजिकबाट सम्हालिएको भनिएको व्यवस्थापन, करोडौंको पूर्वाधार लगानी, र मेयरकै निर्देशनमा चलेको शैक्षिक सेटअप हुँदाहुँदै पनि दुबै विद्यालयको नतिजा अत्यन्तै निराशाजनक आएको छ।

कञ्चनरुप नगरपालिका–१२ कष्टमहाल स्थित शंकर माध्यमिक विद्यालयबाट यस वर्ष एसईई परीक्षामा सहभागी भएका ९९ जना विद्यार्थीमध्ये मात्र २४ जना—जसले गर्दा केवल २४ प्रतिशत—विद्यार्थी मात्रै ग्रेडेड (उत्तीर्ण) भएका छन्। बाँकी ७५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्, जुन कुनै पनि सरकारी विद्यालयका लागि मात्र होइन, सिङ्गो नगरपालिकाको शैक्षिक छविका लागि अपमानजनक स्थितिको संकेत हो। अघिल्लो वर्ष पनि शंकर माविका १०७ मध्ये २९ जना (२७ प्रतिशत) मात्रै पास भएका थिए। त्यसैगरी भृकुटी माविमा २९ जनामध्ये ९ जना मात्र (३१ प्रतिशत) पास भएका थिए। राष्ट्रिय औसत ६१ प्रतिशत विद्यार्थी ग्रेडेड (पास) छन्।

शंकर माविलाई मेयर गुप्ताले ‘आफ्नै प्यारो विद्यालय’ भन्दै करिब ५५ लाख रुपैयाँ बराबरको चार कोठे भवन निर्माण  विद्यालय प्रांगणमै सरस्वती मन्दिर पनि निर्माण भइरहेको छ, जसमा पनि नगरपालिकाबाटै ठूलो रकम विनियोजन गरिएको छ। यी निर्माण कार्यहरू मेयरकै कार्यकर्ताहरूलाई उपभोक्ता समिति बनाएर जिम्मा दिइएको स्थानीयको भनाइ छ। हाल असारको अन्तिम साता उक्त निर्माण तीव्र रूपमा अगाडि बढिरहेको छ।

त्यति मात्र होइन, राहत दरबन्दीमा कार्यरत शिक्षक प्रमोद कटुवाललाई, जो निजी विद्यालयका सञ्चालकसमेत हुन्, नियमविपरीत नगर शिक्षा समितिमा राखिएको छ। शिक्षक संगठन, अभिभावक संघ र अन्य सरोकारवाला निकायहरूबाट यो निर्णयमाथि लामो समयदेखि असन्तुष्टि व्यक्त हुँदै आएको छ।

नगर प्रमुखले आफ्ना नजिकका भनिएका कर्मचारी, शिक्षक, विद्यालय प्रअहरूको प्रयोग गरेर ‘सेटिङ’मा परीक्षा सञ्चालन र कर्मचारी छनोट प्रक्रिया सञ्चालन गर्दै आएको आरोप पनि यथावत् छ। नगरप्रमुखकै ‘अन्धभक्त’ भनेर चिनिने शंकर माविका प्रधानाध्यापक गंगा प्रसाद साहले विद्यालयलाई सुधार गर्नेभन्दा बढी ‘राजनीतिक लाभ लिने आधार’ बनाएर चलाएको स्थानीयको आरोप छ।

त्यस्तैगरी, कञ्चनरुप नगरपालिका–७, धरमपुरमा रहेको भृकुटी माध्यमिक विद्यालयमा पनि अवस्था धेरै फरक छैन। ४३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, तर केवल १६ जना, अर्थात् ३७ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड (उत्तीर्ण) हुन सके। बाँकी २७ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो विद्यालय पनि मेयर गुप्ताको ‘अर्को मन पर्ने’ विद्यालयको रूपमा चिनिन्छ, जसको नेतृत्व पनि नगरसत्ता नजिकै रहेका प्रधानाध्यापकद्वारा हुँदै आएको छ।

स्थानीय बुद्धिजीवी, शिक्षक, पत्रकार र अभिभावकहरूले तीब्र आलोचना गर्दै भनेका छन्— “नगरप्रमुखको माया शिक्षा सुधारमा होइन, स्वार्थका आधारमा विद्यालय चयन गरेर पूर्वाधार फाल्ने शैलीमा केन्द्रित छ।” नगर शिक्षा शाखा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलगायतको चुप्पी पनि आलोचनाको घेरामा परेको छ। “नतिजा कमजोर हुनुमा सबैको संलग्नता र मौनता बराबर जिम्मेवार छ,” स्थानीय अभिभावकको भनाइ छ।

नगरपालिकाभित्रका सरकारी विद्यालयहरूमा शिक्षण–अधिगमको गुणस्तर, पठनपाठनको निरन्तरता, शिक्षक  व्यवस्थापनको पारदर्शिता, अभिभावक संलग्नता र विद्यार्थीहरूको मनोबल—यी सबै पक्ष गम्भीर पुनर्विचारको खाँचोमा छन्। एक स्थानीय शिक्षकले भने, “भवन उठाउनेले मात्रै विद्यालय नउठाउँछन्, अध्ययन र परिणाम पनि हेर्नुपर्छ।”

नगरभरीका विद्यालयमा अनुगमन गर्ने नाममा गुणस्तर सुधार गर्ने उपदेश दिने शंकर माविका शिक्षक तथा शिक्षा समिति सदस्य प्रमोद कटुवाल आफनो विद्यालयको खस्किएको नतिजाप्रति मौन छन्। आगामी दिनमा अरू विद्यालयमा अनुगमन कसरी गर्न सकिने? भन्ने प्रश्न पनि उठेको छ।

३० प्रतिशतभन्दा कम नतिजा ल्याउने विद्यालयहरूमध्ये शंकर मावि (२४%) र रा.मा.वि. बनरैत टोल (२८%) मुख्य छन्। शिक्षा ऐन २०२८ मा ३० प्रतिशतभन्दा कम नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई कारबाही गर्न सकिने व्यवस्था छ। तर, कञ्चनरुप नगरपालिकामा राजनीतिक आडमा राम्रा नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापकलाई मानसिक तनाव दिने र कमजोर नतिजा ल्याउने तर ‘चाकरीमा रमाउने’ प्रधानाध्यापकलाई प्रोत्साहन गर्ने प्रवृत्ति देखिएको विद्यालय प्रमुखहरूको गुनासो छ।

प्रतिक्रिया

Suresh Mandal

२0८२ असार १८ गते ३:४0

यो स्कूल मा पढाई गर्जने नानी बाबु को भबिसे मठ खेल बार भाको छा साबे जिम्मा.मेयर्लिनु परछा सा कसम करबही होस मेयर लाई अनी स्कूल समिति लाई 9 र 10 को कलसा को लाई किस्ता रूप मा रकाम पानी लिन्छा भानेर सुन अको छ सर सफाई को निहु गैरे सम्पदाक पत्र कर्महोदे चन इन गैरियोस

  • 0 Replies
  • 1 Likes
  • 0 Dislikes