कञ्चनपुर, असार १७ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ स्थित महदेवपट्टी नजिकै पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिरगंजबाट विराटनगरतर्फ गइरहेको को १ ख ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका कञ्चनरुप २ बस्ने रोजित शेखका ८ वर्षीय छोरा आयन शेखलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको जानकारी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दिउँसो करिब २ बजे प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा लिइएको छ ।
यस दुर्घटनाले स्थानीयमा आक्रोश पैदा गर्दै गराएको छ । दिउँसो करिब २:१५ बजेदेखि आक्रोशित स्थानीयबासी २००–२५० जनाको संख्यामा भेला भई राजमार्ग ट्यार बालेर अवरुद्ध गरेका छन् ।
प्रहरीले घटनास्थलमा पुगेर स्थानीयलाई सम्झाइबुझाइ गर्दै बाटो खुलाउने प्रयास जारी राखेको जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल लगिएको छ ।
प्रतिक्रिया