कञ्चनरुप, सप्तरी, असार २० गते।
कञ्चनरुप नगरपालिका–६ स्थित श्री महेन्द्र जनता माध्यमिक विद्यालय, बलुवा सितापुरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री *माननीय नवलकिशोर साह (रामबाबु)*लाई एक भव्य समारोहबीच स्वागत गरिएको छ। विद्यालयका प्रधानाध्यापक मोहम्मद सलिमको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साह प्रमुख अतिथि रहेका थिए।
विद्यालय परिवार, अभिभावक, स्थानीयवासी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा मन्त्री साहले सम्बोधन गर्दै जनताको मत र विश्वासकै आधारमा आफूले जिम्मेवारी वहन गरिरहेको उल्लेख गरे। उनले कञ्चनरुप नगरपालिकामा अन्य पालिकाको तुलनामा बढी विकास योजना पु¥याइएको जानकारी दिँदै महेन्द्र माविलाई नमूना विद्यालय बनाउने उद्देश्यले तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। साथै, उनले आगामी आर्थिक वर्षमा कञ्चनरुप नगरपालिकाका लागि ३० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गरिसकिएको बताए।
कार्यक्रममा मेयर पदका उम्मेदवार भोला पासवानले मन्त्री साहको कार्यशैलीको प्रशंसा गर्दै विगतमा सामाजिक विकास मन्त्री हुँदा छात्रछात्रालाई साइकल वितरणजस्ता जनमुखी कामहरू गरेको स्मरण गरे। उनले विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउने अभियानमा शिक्षक, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे। “नमूना विद्यालय घोषणाका लागि विद्यालय स्वयंले पहल गरोस्, म विनम्रतापूर्वक मन्त्रीज्यूलाई आग्रह गर्छु, उहाँले अवश्य साथ दिनुहुन्छ,” उनले भने।
मेयरका अर्का प्रत्यासी नेकपा एमालेका मोहम्मद कलिमले मन्त्री साहले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै जनताको ऋण चुक्ता गरिरहेको टिप्पणी गरे। उनले कञ्चनरुप–६ मा नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षमा ६७ लाख रुपैयाँ र आगामी वर्षका लागि ७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिए। “जनताले अत्यधिक मत दिएर जिताएको ऋण उहाँले विकासमार्फत तिरिरहनु भएको छ,” उनले भने।
यसै क्रममा जसपाका युवा नेता सुमित साहले मन्त्री साहको विकासप्रतिको समर्पणलाई प्रशंसा गर्दै आफूले पनि बजेट विनियोजनमा भूमिका खेलेको बताए। आगामी दिनमा पनि विकासका पहलहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री साहले विद्यालयको जस्ताको छाना हटाई स्तरीकरण गर्दै विद्यालयलाई पूर्ण रूपमा सुधार गर्ने घोषणा गरे। “जनताको आशीर्वाद सदा रहोस्, ताकि म निरन्तर विकासमा लागिरहन सकूँ,” भन्दै उनले भावुक अभिव्यक्ति दिए।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष बच्छुलाल चौधरी, कार्यपालिका सदस्य शोभा पासवान, शिक्षक, अभिभावक तथा अन्य स्थानीय अगुवाहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
शिक्षा, पूर्वाधार विकास र जनसरोकारका विषयमा केन्द्रित यस कार्यक्रममा सहभागिता र प्रतिबद्धताले विद्यालय र समग्र समुदायमा आशा, भरोसा र उत्साह थपेको देखिएको छ।
प्रतिक्रिया