कञ्चनरुप–२ मा ३ करोडको लागतमा कब्रिस्तान निर्माण, मुस्लिम समुदायद्वारा मन्त्री साहलाई सम्मान

...

कञ्चनपुर, असार २१ गते ।
कञ्चनरुप नगरपालिका–२ मा तीन करोड रुपैयाँको लागतमा आधुनिक कब्रिस्तान निर्माण गरिने भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहको पहलमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि यो बजेट विनियोजन गरिएको हो। कब्रिस्तान निर्माणको जानकारी मन्त्री साहले आज इदगाह परिसरमा आयोजित एक विशेष कार्यक्रममा दिएका हुन्।

कार्यक्रममा मन्त्री साह, कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्यासी भोला पासवान, र जसपाका युवा नेता सुमित साहलाई मुस्लिम समुदायका अगुवाहरूले सम्मान गरेका थिए।

समारोहमा मन्तव्य दिँदै मन्त्री साहले विगतमा पनि वडामा इदगाह निर्माण तथा स्वास्थ्य चौकी स्थापनाका लागि बजेट व्यवस्थापन गरिसकेको स्मरण गरे। उनले हाल बरमझियामा १ करोड रुपैयाँ लागतमा विद्यालय भवन निर्माणाधीन रहेको जानकारी दिँदै भने,
“तपाईंहरू सबै मिलेर यस विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्नुहोस्, म थप बजेट विनियोजन गरेर भौतिक पूर्वाधारमा सशक्त योगदान गर्नेछु।”

उनले बजेट विनियोजनमा आफू सहजकर्ता भएको उल्लेख गर्दै स्थानीयबासीको सक्रियता र अपनत्व बिना विकास सम्भव नहुने बताए। “विकास निर्माण जनताको साथ र सक्रिय सहभागितामा मात्र सम्भव छ,” मन्त्री साहले जोड दिए।

मन्त्री साहले विभिन्न मन्त्रालयहरूबाट बजेट ल्याउने क्रममा सुमित साहको विशेष भूमिका रहेको उल्लेख गर्दै, कञ्चनरुपको प्राथमिकताको सवालमा भोला पासवानले पटक–पटक दबाब दिएको स्मरण गरे। उनले बरमझियाको काली भगवती मन्दिरको निर्माण कार्य आगामी वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए।

त्यसैगरी, कञ्चनरुप–२ स्थित पण्डित टोलमा नाला, ढलान र बाटो निर्माणका लागि ४० लाख रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी पनि मन्त्री साहले कार्यक्रममा दिए।

कार्यक्रममा बोल्दै मेयर प्रत्यासी भोला पासवानले वडामा विद्यालय र स्वास्थ्य चौकीको अभाव रहेकोमा ध्यानाकर्षण गराउँदै स्थानीयबासीहरूलाई जग्गा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे। उनले मन्त्री साहले ती आवश्यकताहरू सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष मेहदी हुसैन, सदस्य युसुफ, तथा अगुवा मोहम्मद समिद लगायतका वक्ताहरूले मन्त्री साहको विकास प्रतिको प्रतिबद्धताको प्रशंसा गरे। वडासदस्य युसुफले भने,
“हाम्रो क्षेत्रमा धेरै मन्त्री देख्यौं, तर नवलकिशोर साहजस्तो विकासप्रेमी नेता अरू कोही भएन। उहाँले गरेका कामको प्रशंसा गरेपनि कमै हुन्छ।”

समाजसेवी तथा विभिन्न दलका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको यस सम्मान तथा भेटघाट कार्यक्रममा कञ्चनरुप–२ को समग्र विकासप्रति स्थानीयबासीको आशा, उत्साह र भरोसा झल्किएको देखिन्थ्यो।

प्रतिक्रिया