राजविराज, असार २१ गते ।
भारतबाट अबैध रूपमा चोरी पैठारी गरी ल्याइएको भन्सार छलीका कपडा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ।
राजगढ गाउँपालिका–२ कमलपुर चौकस्थित प्रहरी चौकी खुकुर्नीबाट खटिएको गस्ती टोलीले राति करिब ११:३० बजे चेकजाँचको क्रममा ना.२३ प १५९५ नम्बरको TVS मोटरसाइकलमा लोड गरिएको अवस्थामा भन्सार छली गरिएका विभिन्न कपडाका सामग्री फेला पारेको हो। सामग्री छाडेर भागेका व्यक्ति फरार रहेको र उनीहरूलाई खोजी गर्न प्रहरी टोली सक्रिय रहेको जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानमा सुतिको सारी २२ पिस (रु. ११,०००), नेट सारी ३२ पिस (रु. १९,२००), तौलिया ४ पिस (रु. १,६००), धोती ६ पिस (रु. १,२००) तथा मोटरसाइकल (रु. १,०२,२००) गरी जम्मा रु. १,३५,२०० बराबरको मूल्याङ्कन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) जितेन्द्र कुमार बस्नेतका अनुसार नियन्त्रणमा लिइएका सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले यस प्रकारको अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सशक्त रूपमा निगरानी र गस्ती जारी राखेको जानकारी दिएको छ।
प्रतिक्रिया