मानव अधिकारप्रति सचेत बालबालिका : प्रदेशस्तरीय सञ्जालको घोषणा

...

बिराटनगर, असार २१ गते ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूलाई लक्षित गर्दै एक दिवसीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले ‘न्यायमा पीडितको पहुँच र प्रहरीको प्रतिबद्धता’ विषयमा सहजीकरण गर्नु भयो। यस्तै, सिभिल सोसाइटी नेटवर्क (सिविन) का कोशी प्रदेश प्रमुख बासु अधिकारीले ‘बाल अधिकार, कानुन र बाल हेल्पलाइन’ विषयमा जानकारी दिनु भयो। ओरेक कोशीकी प्रदेश प्रमुख शोभा बजगाईले ‘महिला अधिकार, समानता र सशक्तिकरण’का पक्षमा प्रस्तुति दिनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेशकी मानव अधिकार अधिकृत तुलसा कार्कीले ‘वातावरण प्रदूषण, संरक्षण र स्वास्थ्य अधिकार’बारे धारणा राखिन्। फेडोका जिल्ला परियोजना संयोजक नरबहादुर आउजीले ‘जातीय विभेदको अवस्था र कानुनी व्यवस्था’बारे बोल्नुभयो। त्यसैगरी, कोशी अस्पतालमा सञ्चालित ओसिएमसीकी मामला व्यवस्थापक रीता दाहालले ‘उपचार सेवाको प्रक्रिया र प्रभावकारिता’बारे जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता गरेका इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि चेतना, ज्ञान र सीप अभिवृद्धि अपरिहार्य भएको बताउनुभयो। उहाँले बालबालिकामा मानव अधिकारप्रतिको स्पष्ट समझ, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका आधारमा अधिकारको दाबी गर्नुपर्छ भन्ने सन्देश दिनुभयो। साथै जातीय तथा लैंगिक विभेदविरुद्ध खबरदारी गर्न, जलवायु परिवर्तनको प्रभाव बुझ्न र सरोकारवालासँग सहकार्य गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमपश्चात, सहभागी बालबालिकाहरूको भेलाबाट कोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन गरिएको छ। सञ्जालको अध्यक्षमा मोरङ, रतुवामाईकी निता कटुवाल, उपाध्यक्षमा सुनसरी, बर्जुकी नेहारीका चौधरी, र सचिवमा सुनवर्षीका उमेश शाह चयन भएका छन्। सदस्यमा बर्जुकी प्रीतिका चौधरी, राधिका चौधरी, देवानगञ्जका आदर्श कुमार यादवमेहेराज अन्सारी रहेका छन्।

इन्सेक कोशीका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले कार्यक्रमको स्वागत गर्दै बालबालिकामा चेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। सहभागीहरूले मानव अधिकारसम्बन्धी विषयमा राज्यको भूमिका र प्रतिबद्धता बुझ्न पाएपछि आत्मबल र प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

सुनसरी र मोरङका विभिन्न विद्यालयहरू—जनता माध्यमिक विद्यालय (देवानगञ्ज), अमरसिंह मावि (साहेवगञ्ज), नेपाल राष्ट्रिय मावि (अमाही बेल्हा), रामसीता मावि (भिमपुर), सरस्वती मावि (इटहरा र कादुपाडा), बिरेन्द्र मावि (अमरदह), र आदर्श मावि (डाइनिया)—मा गठित बाल अधिकार सचेतना समूहका बालबालिका र संरक्षक शिक्षकहरू कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया