कञ्चनरुप, सप्तरी, असार २२ गते।सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित पौडा खोलामा करिब २१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको बाँधको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गरेका छन्। यसले ५० विघा खेतीयोग्य जमिन र स्थानीय बस्ती कटान तथा डुबानबाट सुरक्षित भएको छ।
कञ्चनरुप नगरपालिका–६ स्थित पौडा खोलामा निर्माण सम्पन्न भएको बाँधको भव्य उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह (रामबाबु) ले रिबन काटेर गरेका छन्। करिब २१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बाँधले स्थानीय किसानलाई वर्षेनी हुने कटान र डुबानको समस्याबाट राहत दिलाएको छ।
नेकपा एमालेका मेयर प्रत्यासी मोहम्मद कलिमका अनुसार मन्त्री साहले चुनावअघि जनतालाई गरेको वाचा अनुरूप बाँध निर्माण सम्पन्न भएको हो। “५० विघा भन्दा बढी खेत कटान हुनबाट बचेको छ,” कलिमले भने, “यसले किसानलाई खेतीयोग्य जमिन जोगाउने मात्र होइन, बस्तीसमेत सुरक्षित बनाएको छ।”
मेयर पदका अर्का प्रत्यासी तथा जसपाका नेता भोला पासवानका अनुसार चालु आर्थिक वर्षमा पौडा खोलामा नदी नियन्त्रणका लागि २१ लाख, २० लाख र १५ लाख बजेटका तीन वटा योजना कार्यान्वयनमा छन्। उनले मन्त्री साह वनमन्त्री भएका बेला कञ्चनरुप नगरका लागि करिब ३ करोड रुपैयाँको नदी नियन्त्रण बजेट विनियोजन गराएको जानकारी गराए।
“पानी बस्तीमा पस्ने डर हटेको छ, किसानको खेत जोगिएको छ,” पासवानले भने, “स्थानीयको सुरक्षाको लागि यो बाँध निकै उपयोगी भएको छ।”
मन्त्री साहले आफ्नो सम्बोधनमा नदी नियन्त्रणका लागि थप बजेट आवश्यक रहेको भन्दै आगामी दिनमा डीपीआर तयार गरी थप रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए। साथै, कञ्चनरुप–५ र ६ जोड्ने झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ९४ लाख रुपैयाँ र आगामी वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए।
कार्यक्रममा मेयरका प्रत्यासी मोहम्मद कलिमले मन्त्री साह जनताप्रति जिम्मेवार नेता भएको भन्दै “उहाँले विकासमार्फत जनताको ऋण चुक्ता गरिरहनुभएको छ” भने।
त्यस्तै, जसपाका युवा नेता सुमित साहले मन्त्री साहको विकासप्रतिको समर्पणको प्रशंसा गर्दै आफूले बजेट ल्याउनमा सहजीकरणको भूमिका खेलेको बताए।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष बच्छुलाल चौधरीले पौडा खोलाको बाँध निर्माणलाई प्राथमिकता दिएकोमा मन्त्री साहलाई धन्यवाद दिएका थिए।
प्रतिक्रिया