अवलोकित सामाचारदाता
सुनसरी,पुस २८ गते । बहुजन अभियन्ता राजकिशोर रजकले मनुवादीहरुले वहुजन समाजलाई ७ हजार ६सय ४३ जातमा विभाजित गरेर आफनो सत्ता जोगाईराखेको बताएका छन् ।
सुनसरीको बराहनगरपालिका–११ मधुवनमा वहुजन अभियन्ता महेन्द्र मण्डल(खत्वे)ले आईतबार गरेको दलित अगुवा भेलालाई सम्बोधन गर्दै अभियन्ता रजकले सो कुरा बताएका हुन् ।
ब्राह्मणवादीहरुले दलित,मुश्लिम र पिछडावर्गलाई एउटै लठीले पालैपालो हिर्काउने गरेको भन्दै दलित,मुश्लिम र पिछडावर्ग एकजुज भएर त्यसको सामना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ ब्राह्मणबादीहरुले हिर्काउने लठी एउटै छ भने हामी पालैपालो किन कुटाई खाने ? संयुक्त रुपमा हामी पिठ्यू थाप्यौं भने त्यसको लठी भाचिन्छ ।’
लोकतन्त्रमा राजाको छोरा राजा नहुने बताउँदै भोटबाट आफनो नेता छनौट गर्नुपर्ने भएकोले अन्तिम सयमसम्म अडिग् रहनु पर्नेमा अभियन्ता रजकले जोड दिए । कार्यक्रमका अर्का वक्ता हरिनन्दन अम्बेडकरले राजनीतिका लागि बिचारधारा आवश्यक रहेकोले बाबासाहेब डाक्टर भिमराव अम्बेडकरको बिचारधाराले मात्र वहुजनको हित हुने बताए ।
आफनो इतिहास थाह नहुनेले केही गर्न नसक्ने बताउँदै वहुजन समाजका नायकहरुबारे ती समुदायले गौरवबोध गर्नुपर्ने विचार व्यक्त गरे । पत्रकार एवं समाजिक अभियन्ता भोला पासवानले राज्यमा दलित समुदायको प्रतिनिधित्वबारे जानकारी गराएका थिए ।
कार्यक्रमका आयोजक वहुजन अभियन्ता महेन्द्र मण्डल खत्वे जात होइन जमात निमार्ण गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बराह नगरपालिका वडा नम्बर ११का दलित अगुवाहरु सहभागिता रहेको थियो ।
प्रतिक्रिया