५ दिनभित्र भुक्तानी विवाद समाधान नभए मुख्यमन्त्री कार्यालयमा ताला

  • माघ २८, २0७६
  • 0
...

जनकपुरधाम,माघ २८ गते  । प्रदेश २ का सांसदले ५ दिनभित्र उपभोक्ताको रकम भुक्तानी नभए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
सत्ता पक्ष र बिपक्षका केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ताला लगाउने निर्णय गरेका छन् ।
प्रतिपक्षी नेकपा र कांग्रेसका साथै सत्तारुढ समाजवादी र राजपाका समेत सांसदहरुको सहभागिता रहेको बैठकले सरकारलाई अल्टिमेटम दिने तय गरेको छ । ज्ञापन बुझाएको पाँच दिनभित्र भुक्तानी नगरिए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरिने उनले बताए ।
प्रदेश २ मा आर्थिक बर्ष २०७५र७६ मा सम्पन्न गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ८३ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।
उपभोक्ता समितिमार्फत काम गरेका योजनाहरुको भुक्तानीबारे छानविन गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा समिति पनि बनेको थियो । २९ भदौमा बसेको प्रदेशसभा बैठकले बनाएको समितिमा उपसभामुखका साथै प्रदेशसभा सदस्यहरु नागेन्द्र राय यादव, सचमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य थिए ।
समितिले विभिन्न जिल्लामा पुगेर योजनाहरुको अनुगमन र्गयो । र, कुल योजनाहरुमध्ये ७ प्रतिशत मात्रै काम हुन नसकेको भन्दै सम्पन्न भएका ९३ प्रतिशत योजनाको ९१ करोड ३९ लाख भुक्तानी दिन सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदन बुझायो ।
मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि प्रदेशसभाको दोस्रो वार्षिक उत्सवमा मन्त्रीहरुले जथाभावी रुपमा मौखिक रुपमै कामको अख्तियारी दिएकाले भुक्तानीको समस्या देखिएकोे बताएका थिए ।
कर्मचारीहरुले भने लिखित अख्तियारी बिना योजना बाँडिएकाले आर्थिक नियमावली अनुसार गत बर्ष काम भएका कतिपय आयोजनाको भुक्तानी दिन नसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया