कोरोना भाइरस विरुद्ध राजगढ गापाद्वारा विशेष कार्यक्रम शुरु, अध्यक्ष यादव र उपाध्यक्ष मण्डलको नेत्तृवमा दुईवटा टोली गठन

  • चैत्र १0, २0७६
  • 0
...

राजकुमार पासवान 
राजगढ(सप्तरी) चैत्र १० गते ।
 महामारीको रुपमा फैलिएका कोरोना भाइरस विरुद्ध विशेष सर्तकता अपनाउनको लागि राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादवले गाउँपालिकाबासीहरुको लागि विशेष कार्यक्रम शुरु गरेका छन् । 
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण राजगढ गाउँपालिका भरी रहेको सम्पूर्ण जनता एंव  सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने निर्णय गर्नुका साथै सो कोरोना भाइरसबाट बच्नको लागि सचेतना फैलाउने विशेष कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

राजगढ गाउँपालिकामा कोरोना भाईरसबाट बच्नको नेपाल–भारतको बनैनियाँ सिमा नाकामा चैत्र २ गतेदेखि हेल्थ डेस्कको स्थापन गरेको छ । प्रत्येक वडामा रहेको स्वास्थ्य चौकी, वडा अध्यक्ष र एउटा वडा सदस्य मिलेर दुईवटा टोली बनाई घर–घरमा गएर चेकजाँच गरी स्वास्थ्य परीक्षण गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो । 
कोरोना भाइरसबाट बच्नको लागि गाउँपालिका स्तरीय दुई वटा टोली बनाउने निर्णय कार्यपालिकाको बैठकबाट गरेको छ । एक टोलीमा गाउपालिका अध्यक्ष, स्वास्थ्य संयोजक र स्वास्थ्यकर्मीहरु र अर्काे टोलीमा उपाध्यक्ष, स्वास्थ्य सह– संयोजक र स्वास्थ्यकर्मीहरु सहितको दुई वटा टोलीले वडाहरुमा संचालित रहेको टोलीको अनुगमन गर्ने र आवश्यक परेको बेलामा गाउँपालिकाको जुनसुकै वडामा स्वास्थ्य परीक्षण गर्ने सक्ने जानकारी गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाद्वारा गाउँपालिकाको कार्यालय, ६ वटै वडा सहित झुटकी प्रहरी चौकी, स्वास्थ्य चौकी फकिरा, झौहरा चौक, स्वास्थ्य चौकी मलेकपुर, स्वास्थ्य चौकी बनैनिया–कमलपुर, कृषि हाटबजार फकिरा, सशस्त्र बेस क्याम्पस बनैनियाँ, न्यायिक समितिको कार्यालय, बेस क्याम्प पत्थरगाडामा हाथ धुनको लागि २५ थान बाल्टिन, टुटी २५ थान, टुल २५ थान र तीन सय थान साबुन वितरण गरिएको छ ।

उक्त सामग्रीहरुको प्रयोग आम जनता सहित जनप्रतिनिधिहरुले नियमित गरेमा कोरोना भाईरसबाट जोगिन र जोगाउन सकिन्छ, समय– समयमा हात धुनु पर्ने आवश्यक भएकोले उक्त सामग्री प्रदान गरिएको हो । विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न यस गाउँपालिका मातहतका सम्पूर्ण निकायहरुबाट उपलब्ध भईरहेको नागरिक सिफारिस, विवाह दर्ता, मालपोत र अन्य सिफारिस लगायतका अति आवश्यक कामकाज बाहेकका सम्पूर्ण कामकाज अर्काे व्यवस्था नहुन्जेलको लागि बन्द गर्न र स्वास्थ्य चौकीको काम काज यथावत राखिएको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश  कुमार यादवले जानकारी दिनुभयो । 
त्यसैगरी गाउँपालिका भित्र रहेको निजी र सामुदायिक विद्यालयहरु बन्द गर्ने, भोज भतेर नगर्न, हाटबजारमा बढी भीडभाड नगर्न, मठ–मन्दिरमा धैरै बेरसम्म पुजा नगर्न, मस्जिदमा नवाज नपढन र २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला नहुनको लागि अध्यक्ष यादवले आग्रह गर्नुभएको छ । 
कोरोना भाइरसबाट बच्नको लागि गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परमानन्द यादव,प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, उपाध्यक्ष पुष्पलता कुमारी मण्डल, वडा नं. को वडा अध्यक्ष नारायण यादव, वडा नं. २ को अध्यक्ष ललित कुमार सिंह, वडा नं. ३ को वडा अध्यक्ष सीताराम यादव, वडा नं. ४ को वडा अध्यक्ष हेम नारायण साह, वडा नं. ५ को वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुर, वडा नं. ६ को वडा अध्यक्ष कमलदेव यादव, गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजक रामचन्द्र यादव, प्रशासकीय अधिकृत विपिन आचार्य, सूचना अधिकृत चन्द्र किशोर यादव, रोजगार शाखाको संयोजक दिनेश कुमार यादव, पत्रकार दिलिप कुमार साह सहितको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया