कञ्चनपुर,चैत्र १८ गते । सप्तरीको कञ्चरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा मङ्गलवारसम्ममा ९ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलबार दिउँसोसम्म १८ पालिकामा क्वारेन्टाइनमा भर्ना हुनेहरुको संख्या १ सय ५३ पुगेको जनाएको छ । जस अनुसार कञ्चनरुप नगरपालिका–११ स्थित अधारभूत बिद्यालयमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका डम्बर गुप्ताले जनाएका छन् । तर स्वास्थ्य कार्यालयको तथ्याकंमा भने कञ्चनरुपमा ११ जना क्वारेन्टाइनमा रहेको उल्लेख छ । कञ्चनरुपमा क्वारेन्टाइनमा राखिएका ९ जना भारतबाट फर्किकाहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले जनाए । जिल्लाभरी क्वारेन्टाइनमा ११ महिला गरी १ सय ५३ पुरुष छन् । क्वारेन्टाइनमा भर्नाहरुमध्येबाट ६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना भाइरसको सम्भाव्तालाई मध्यनजर गर्दै उनीहरुलाई नगरपालिका तथा गाउँपालिकाहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको हो । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा ४ सय ५१ बेड रहेको छ । सोही क्वारेन्टाइनहरुमा उनीहरुलाई निगरानीमा राखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन । विदेशबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरुमाथि निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सवैको अवस्था समान्य रहेको बताए । उनले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनकालागि उच्च सतर्कता अपनाइएको बताए । भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिएका छन् ।
प्रतिक्रिया