नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो,एकै पटक भेटिए तीनजना

  • चैत्र २२, २0७६
  • 0
...

कञ्चनपुर,चैत्र २२ गते । पछिल्लो पटक कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि जनाएअनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् । मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो ।

३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो । आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो । त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो ।

उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए । नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो । तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ। कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया