कञ्चनपुर,चैत्र २८ गते । सप्तरी र सिरहामा लागु औषध सहित तीन जना पक्राउ परेको छ । कोरोनाको माहामारीले विश्व समुदायनै आक्रान्त भइरहेको यस्तो संवेदनसिल परिस्थितिमा मौकाको नाजायज फाईदा उठाउँदै तस्करहरु सक्रिय भएको पाइएको छ ।
सप्तरी छिन्नमस्ता गाउँपालिका–६ हाटीबाट प्रहरीले शुक्रबार एक जनालाई लागु औषध सहित पक्राउ गरेको छ । नेपाल भर लागु भएको लकडाउन उल्लंघन गरी अपराधिक गतिविधिमा संलग्न सप्तरी विष्णुपुर गाउँपालिका– ५ प्रसाई बस्ने वर्ष ४५ को जोगिन्द्र यादबलाई को.४ प. ४३६८ नं. को मोटर साईकल चेकजाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले यादबलाई चेक जाँच गर्दा प्रतिबन्धित लागु औषध डालेक्स डिसि सिरफ २२ बोतल,नाईट्राभेट ट्याब्लेट १५ पिस, स्पास्मोप्रोक्सिन ट्याबलेट १० पिस र निट्रोजम ट्याबलेट १० पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जनाए । दुई दिन अघि पनि प्रहरीले कोशी ब्यारेजबाट ४ जनालाई पक्राउ गरेको थियो । यसैबीच सिरहा नगरपालिका–२ हनुमान चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट ९० पिस, स्पास्मोप्रोक्सिन ट्याबलेट ७२ पिस र १ सय एमएलको रेफलिन ६९ बोतल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय रबिन्द्र कुमार यादव र नराहा गाउँपालिका–५ बस्ने २४ वर्षीय रमेश कुमार यादव रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले स.८ प ५६८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको ।
प्रतिक्रिया