कञ्चनपुर,बैशाख ५ गते । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ र १२ले शुक्रबारदेखी राहत वितरण सुरु गरेका छन् ।
पहिलो दिन वडा नम्बर ८ले एक सय ९९ परिवार र वडा नम्बर १२ले १ सय ३३ विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । कञ्चनरुप नगरपालिका वडा नम्बर ८का वडाअध्यक्ष राजकुमार साहले शुक्रबार साविक कञ्चनपुर वडा नं.१ र २ का विपन्न,गरिब तथा दैनिक ज्यालादारी गर्र्ने एक सय ९९ परिवारलाई राहत वितरण गरिएको बताए ।
साविक वडा नम्बर ३देखी ९ सम्मका विपन्न परिवारलाई शनिबार राहत वितरण गर्ने नेकपाका प्रतिनिधि शोभा पासवानले बताए । वडा कार्यालयले विपन्नको परिवारमा संख्याको अधारमा तीन किसिमको प्याकेज बनाएर राहत वितरण थालेका छन् । १ देखी ४ जनासम्म परिवार सदस्य भएकालाई १० किलो चामल, १ किलो दाल,तेल आधा लीटर,नून १ किलो,साबुन १ र सोयाविन एक पाउ वितरण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै ५ देखी ८ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाल,तेल १ लीटर,नून १ किलो,साबुन २ र सोयाविन एक पाउ तथा ९ जना भन्दा बढी परिवास संख्या भएकालाई २० किलो चामल, डेढ किलो दाल,तेल एक लीटर,नून १ किलो,साबुन ३ र सोयाविन एक पाउ वितरण गर्ने वडा राजकुमार अध्यक्ष साहले जानकारी दिएका छन् ।
अति विपन्न,गरिव र संकटासन्न परिवारको नाम छुट्न गएमा वडा कार्यालयमा बैशाख ८ गते नाम दर्ता गराउन भनिएको छ । वडा नम्बर ८ मा १३३६ घरधुरी रहेकोमा ४६८ परिवार विपन्न रहेको वडा कार्यलयले तथ्याकं पेश गरेपछि नगर कार्यपालिकाको बुधबार बसेको बैठकले ४ लाख ८० हजार रकम वडालाई राहतका लागि दिने निर्णय गरेको थियो । वडाअध्यक्ष साहका अनुसार छुटेका अति विपन्न केही परिवारलाई समेत थप गरेर राहत वितरण गर्ने बताए ।
यता कञ्चनरुप नगरपालिका वडा नम्बर १२ ले समेत शुक्रवार साविक धरमपुर ८का १ सय ३३ घरधुरीलाई राहत वितरण गरेको छ । वडा कार्यालयले प्रतिपरिवार २५ केजीको चामल, नुन १ केजी , दाल १ केजी ,तेल १ लिटर वितरण गरिएको नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताए ।
प्रतिक्रिया