भोला पासवान/सुनिल सरवरिया
कञ्चनरुप–७ सितापुर, बैशाख ६ गते । कञ्चनरुप नगरपालिका–७ सितापुरका एक सय ५० जनाभन्दा बढी किसानले लगाएको तरकारी खेतमै कुहिन थालेका छन्। गत चैत्र ११ गतेदेखी ‘कोविड’को विश्वव्यापी महामारी रोक्न देशव्यापी लकडाउन घोषणाभएपछि किसानहरुले लगाएको तरकारी खेती खेतमै कुहिने अवस्थामा पुगेको हो ।
सितापुर गाउँका एक सय २५ घर महतोले तरकारी खेती गरेर जीविका चलाउँदै आएका छन् ।
सहर बजारमा तरकारी अभाव छ । तर किसानको तरकारी खेतमै कुहिन थालेपछि तरकारी खेतीबाटै परिवारको गुजरा गर्ने सितापुरका किसानहरु मर्कामा परेका छन् । सितापुरमा दैनिक ४०–५० क्वीन्टलभन्दा बढी काक्रा (खिरा),५० क्वीन्टल लौका र फर्सी, २० क्वीन्टल बन्दाकोवी,लगभग ५ क्वीन्टल करेला र हरियो खोर्सानी,५क्वीन्टलभन्दा बढी हरियोसाँग, ५क्वीन्टलभन्दा बढी टमाटर र १० क्वीन्टल भान्टा उत्पादन भइरहेका छन् ।
तर बजार ब्यवस्थापन र लकडाउनका कारण वाहिर तरकारी बिक्रीवितरण गर्न जान रोक लगाएपछि मार्का परेको कृषक रामधनी महतोले गुनासो गरे । उनले भने,‘छोरा इन्जिनियर पढ्दैछ । करिब ८० हजार किस्ता तिर्नु छ । तर तरकारी खेतमै कुहिएर लागत पनि उठ्न छाटकाट छैन ।’
लकडाउनका कारण उत्पादीत तरकारी तथा फलफूल लगानी नै चौपट हुनेगरी बारीमै कुहिन थालेपछी यहाँका किसान जीविका कसरी चलाउने चिन्तामा डुबेका हुन् । रामधनी जस्तै राजकिशोर महतोले पनि छोरा मनजीत महतोलाई भरतपुरमा एच.ए.पढाउँदैछ । बैशाखमा दोस्रो बर्षको फी एक लाख २४ हजार तिर्ने योजना बनाएको थियो । तर १० कटामा लगाएको तरकारी खेतमै कुहिन थालेपछि शिवनारायणलाई पनि निन्द्रा लाग्न छोडेको छ ।
बारीका सबै उत्पादन कुहीन थालेपछि १३ जनाको परिवार तरकारी खेती गरेर पाल्दै आएका ६५ बर्षिया छोटीलाल महतोको पनि निन्द्रा लाग्न छोडेको छ । उनले भने,‘१० लाख रुपैया ऋण छ । आधा दर्जनभन्दा बढी बालबालिकाहरुलाई पढछन् । तर १५कठामा लगाएका लौका,फर्सी,काँक्रा,करेला,टमाटर खेतमै कुहिएर जान थाल्यो । ’ विगतमा खेतमै किन्न पुग्ने व्यापारी आउन छाडेका छन् भने किसान आफैले बजार लैजान दोज्दा समेत प्रहीले रोकिदिनेगरेको छ । ‘सधै खेतमै आएर लैजाने व्यापारीहरु गाउँ लकडाउनसँगै आउन छोडेका छन्, कृषक रामधनीले भने, ‘आफै बजारसम्म लैजान खोज्दा प्रहरीले रोक्ने गरेको छ ।
नगरपालिकाले पनि सहजीकरणका लागि कुनै काम गरेका छैनन्।’ एक दर्जनभन्दा कढी कृषकसँग कुरा गर्दा अधिकाशले आफनो उत्पादन बिक्री गर्न बजार जाँदा प्रहरीले दुरव्यहार गर्ने गरेको गुनासो गरेका थिए । ‘हामीले साइकलमा पनि तरकारी बजार लैजान खोज्दा प्रहरीले ठूलो व्यापारीभन्दै कुट्न आइलाग्ने गर्छ,’ कृषक धनिलाल महताले भने, ‘ नगरपालिकाभरी सबै दिन कुनै न कुनै ठाउँमा हाट लाग्ने गर्दथ्यो,त्यो पनि बन्द छ । नगरपालिका अर्को कुनै वैकल्पिक व्यवस्था पनि गरेको छैन । उनले सरकारले दैनिक उपभोग्य सामग्री ओसारपरासमा रोक नलगाएपनि प्रहरीले तरकारी बजार लैजान रोकिदिदा लगानी र मेहनत माटोमा मिल्न लागेको बताए ।
प्रतिक्रिया