कञ्चनपुर,बैशाख ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ र ४मा आईतबार राहत वितरणको विषयमा विवाद भएको छ । राहतका विषयलाई लिएर वडा नम्बर ८मा वडा सदस्य संजय पासवानमाथि संघातिक आक्रमण भएको छ । राहत वितरण गरेर घर फर्किने क्रममा एद दर्जनभन्दा बढीको समूहले वडा सदस्य पासवानमाथि आक्रमण गरेका थिए ।
आक्रमणमा वडा सदस्य पासवानको टाउँकोमा गम्भिर चोट लागेको छ । वडा सदस्य पासवानलाई बचाउने क्रममा उनको भाई अजयलाई समेत ती समूहले कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएका दुई जनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गरिए पश्चिात थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताए । वडा सदस्य संजयको टाउँकोमा चार वटा टाका लागेको छ भने भाई अजयलाई पनि शरीरको विभिन्न भागमा चोट लागेको छ । घटना संलग्न विरेन्द्र सरदारले राहत लिनेहरुको नमावलीमा आफनो परिवारका सदस्यहरुको नाम छोडेको भन्दै सुरुमा वडा कार्यलयमै झगडा गरेका थिए ।
वडा कार्यलयमा झगडा पछि वडाअध्यक्ष राजकुमार साह,वडा सदस्य पासवान सहित कर्मचारी कार्यालयमै प्रहरीको सुरक्षामा थिए । घटना साम्य भएपछि घर जाने क्रममा वडासदस्य पासवानमाथि हमला गरिएको बताइएको छ । घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले जनाएको छ ।
कञ्चनरुप नगरपालिकार्क वडा नम्बर ४मा राहत वितरण सुरु गर्ने तयारी गरेपछि महिलाहरुले विवाद गरेको थियो । वडा कार्यालय घेराऊ गरेर आएको राहत सबैलाई दिनुपर्ने भन्दै बिबाद गरेपछि राहत वितरण कार्य रोकिएको वडाअध्यक्ष रामनारायण साहले बताए । वडा नम्बर ११मा समेत राहतको विषयमा समान्य बिबाद भएको थियो । कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५,६,१२ र ८ले राहत वितरण गरेको छ । वडा नम्बर ८मा सूचिमा रहेको मध्ये ६ जनालाई राहत वितरण गर्न बाँकी रहेको र छुटेको व्यक्तिहरुको थप नाम लेख्ने तयारी गरेको थियो ।
प्रतिक्रिया