कञ्चनपुर,जेष्ठ ८ गते । गरिवीका कारण खान नपाएर ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मलर सदाको बस्तीका २७ घरलाई बिहीबार राहत वितरण गरिएको छ ।
दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप–८ र कृष्णा विद्युत हार्डवेयर कञ्चनपुरका प्रोप्राइटर शालिग्राम गुप्ताले संयुक्त रुपमा राहत वितरण गरेको हो । गरिबीका कारण खान नपाई ज्यान गएका मलर सदा मुसहरकी श्रीमती जलेश्वरी लगायत बस्तीका २७ घरलाई प्रति परिवार २५ किलो चामल,२ किलो दाल,ढेड लिटर तेल,४ पिस साबुन वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले बताए ।
चार दिनदेखि पेटमा अन्न परेको थिएन । गत सोमबार भोको पेट लिएर कोदालो चलाउन हिँडेका मलर खेतमै लडे । समयमै उपचार गरेको भए बाँच्न पनि सक्थे तर गरिबीका कारण मुसहर परिवारले उपचारसमेत गराउन पाएन ।
कञ्चनरुप नगरपालिका–५मा तीन साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ मात्रै राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर सदा जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।
उनका तीन भाइ छोरा छन् । दुईजना विवाहित हुन् । सबै रोजगारीका लागि भारतको गुजरातमा छन् । दुई बुहारी एकै आँगनमा भए पनि छुट्टै बसेका छन् । दुई छोराको कच्ची घर छ । मलर दम्पतीको भने भत्केको घर ।
‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरीले आँसु पुछ्दै भनिन्, ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’
मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा थिएन । टोलवासीले उठाएर १५ सय रुपैयाँ दिए । जसले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरियो । सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिएका छन् ।
संयोजक पासवानका अनुसार यसअघि पनि मञ्चले सोही वडाका पिप्रापूर्वका ५० घर मुसहर समुदायलाई एक महिना पहिले स्टोरिज अफ नेपाल समुदायको सहयोगमा राहत वितरण गरेको थियो ।
दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले एक महिना अघि नै कञ्चनरुप नगरपालिकालाई नगरपालिकामा विपन्न र दलितको अवस्थाबारे जानकारी गराएपनि ध्यान नदिएकोले मलर सदाको ज्यान गएको बताए ।
छिमेकी पालिकाहरुले तेस्रो चारणको राहत वितरण गर्ने तयारी गरेपनि कञ्चनरुप नगरपालिका जनप्रतिनिधिहरु ऋव उप्रान्त राहत वितरण नगर्ने मनसायमा रहेको संयोजक पासवानले बताए ।‘ गरिवीका कारण दलित लगायत सिमान्तकृतलाई जिविका चलाउन मुश्किल छ ।कति पय परिवार भौकै बसेका छन् । कति नून रोटी खाएर गुजरा गर्दैछन् तर हाम्रा जनप्रतिनिधिलाई त्यसको कुनै मतलव छैन ।’ कञ्चनरुप नगरपालिकामा ३२ प्रतिशत दलित समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया