कञ्चनपुर,जेष्ठ २० गते । भोखमरीले मरेका कञ्चनरुप नगरपालिका–५ पथरी रामपुर टोलका मलर सदा परिवारलाई नगरपालिकाले क्रिया खर्च दिन शर्त अघि सारेका छन् ।
गत बैशाख ६ गते खान नपाएर मरेका मलर सदा परिवारसँग खाली हात भेटन गएका कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले नगरपालिकामा निवेदन दिन भनेका थिए । मलर सदाका क्रियाक्रम सकेपछि गत बैशाख १४ गते मलर सदाकी पत्नी जलेश्वरी देवीले नगरप्रमुखलाई सम्बोधन गरेर क्रिया खर्च उपलब्ध गराईदिन अनुरोध गरेकी थिइ्न ।
कोरोना भाइरसका कारण जारी लकडाउनमा नगरपालिका दिएको राहत सकिएपछि ४÷५ दिन भोकै काममा हिडेकोले मलर सदाको मृत्यु भएको निवेदनमा उल्लेख गरेको थियो । मलर सदाको परिवारसँग भेट्न दुई जना नेकपा कार्यकर्ता गएको बेलामा निवेदन लेखिदिएपछि सोही निवेदन लिएर मलर सदाकी पत्नी जलेश्वरी र छिमेकी विश्वनाथ सदा लगायत ५ जना नगरपालिका पुगेका थिए । ‘नगरप्रमुख वसन्तकुमार मिश्रले निवेदन पढीसकेपछि निवेदनमा भोक होईन,दम रोग र रक्सी खाएर मरेको कुरा उल्लेख गरेर निवेदन ल्याए २५ हजार क्रिया खर्च उपलब्ध गराउने कुरा गरे ।’ विश्वनाथ सदाले भने,‘ हामी हुदै नभएको घटना ( दम रोग र रक्सी) कारण मरेको निवेदन दिएर क्रियाखर्च नलिने भन्दै हामी फर्केर आयो ।’
नगरपालिकाका मेयर वसन्त कुमारले मलरको मृत्यु भोककै कारण नभएको संचारकर्मीमाझ दाबी गरे । ‘हामीले पहिलो चरणमा प्रदेशबाट आएको १५ लाख र नगरपालिकाको ४३ लाख रुपैयाँ राहत वितरणमा खर्चिएका छौँ, राहत नपाएर, खान नपाएर र्मयो भन्ने हल्ला मात्रै हो,’ उनले भने, ‘घटनालाई अनावश्यक प्रचार गरियो । मलर दमको रोगी थियो, त्यसैले मरेको हो ।’ ‘गरिवको छोरा भोकले टोलाएपनि रक्सी खाएको’देख्ने मानसिकताबाट पिडत भएर जनप्रतिनिधि मलरको मृत्युलाई पनि मजाक बबनाएको मुसहर समुदायका अगुवाहरुको गुनासो छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘अब नेपालमा गरिबीकै कारण कोही भोकै पर्दैन, भोकले कोही मर्दैन, यो सरकारको प्रतिबद्धता हो ।’ तर, त्यसको चार दिन बित्न नपाउँदै सप्तरीको कञ्चनरूप नगरपालिका–५, पथरी रामपुर टोलका मलर सदाले खान नपाएकै कारण ज्यान गुमाए ।
स्थानीयका अनुसार उनको घरमा धेरै दिनदेखि चुलो बलेको थिएन । लकडाउन भएको महिना दिनसम्म दुःख–सुख खाए पनि त्यसपछि मलरले खानकै लागि हप्तौँसम्म पर्खिनुपर्ने अवस्था थियो । वडाले राहत दिए पनि त्यसलाई निरन्तरता नदिँदा सदाका दम्पती भोकै परेका थिए । लकडाउनकै बीच छिमेकीले मजदुरी गर्न बोलाएपछि काम गर्न गएका मलरले अर्को दिनको उज्यालो देख्न पाएनन् । आफन्तले चन्दा उठाएर दाहसंस्कार गरे ।
नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको छैन, बल्ल फाराम भर्न लगाएको छ । तर, वडाका जनप्रतिनिधिले भने मुसहर बस्तीबाट राहतको फाराम भराउन पनि शुल्क उठाइएको कुरा सार्वजनिक भएको थियो । शुल्क उठाएको विषयमा अवलोकित दैनिकले स–प्रमाण समाचार प्रकाशित गरेपछि उठाएको शुलक फिर्ता गरिएको छ । वडा नम्बर ५का वडाअध्यक्ष कैलाश साहले जनप्रतिनिधिहरुले कुनै शुल्क नलिएको दावी सोमबार एक प्रेस विज्ञप्तिमा मार्फत गरेको छ ।
प्रतिक्रिया