सप्तरीको डाक्नेश्वरी नगरपालिका –१ बलाटी स्थित अवैध रुपमा संचालित घरेलु मदिरा भट्टी पसलहरुमा मंगलबार छापामारी गरी प्रहरीले एक सय लिटर घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पातो र प्रदेश प्रहरी कार्यालय जनकपुरको सादा पोसाकका प्रहरी समेतको संयुक्त टोलीले उक्त परिणामको मदिरा र कच्चा पर्दाथ नष्ट गरेको हो ।
प्रहरीले कच्चा पदार्थ एक हजार लिटर,घरेलु तयारी मदिरा एक सय लिटर,प्लाष्टिकका भाडाहरु १५ थान र मदिरा बनाउने मेशिन ५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीले जनाएको छ ।
त्यस्तै प्रहरीले तिलाठी कोईलाडी गा.पा. ५ बनरझुला स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा साईकलमा ल्याउदै गरेको करिब ४३ हजार बराबरको समान समेत बरामद गरेको छ । ई.प्र.का. हनुमाननगर सप्तरीबाट खटिएको टोलीले सुतीको साडी ६९ पिस,थानको कपडा एक सय मिटर, र कुर्ता सुरुवाल २ पिस बरामद गरेको डिएसपी तिलक भारतीले जनाएको छ ।
प्रतिक्रिया