कञ्चनपुर,साउन २ गते । प्रदेश २मा कोरोनाका कारण ६जनाको ज्यान गएको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीबार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले जानकारी दिए ।
प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताए । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ । उनको शव अस्पतालमास्थित मर्चुरीमा राखिएको जनाएको छ । यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
यस अघि रौतहटका २, बाराका २ र पर्सामा बेवारिसे भेटिएका एक मृतकमा कोरोना संक्रमण पुष्टि भैसकेको प्रादेशिक स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य निरिक्षक विजय झाले बताए। बुधबार रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको वीरगन्जको नारायणी अस्पतालमा(अस्थायी कोरोना अस्पताल) उपचारको क्रममा मृत्यु भयो।
बेंग्लोरमा दाजुभाइ सँगै बसेर मजदुरीको काम गर्दै आएका उनको भाइको कोरोनाका कारण उतै मृत्यु भयो। भाइको मृत्युपछि असार २४ गत्ते घर फर्केका उनी चार दिन परोहा नगरपालिका–३ को आधारभूत विद्यालय तेजापाकड क्वारेन्टिनमा बसेका थिए । आउँदा कुनै लक्षण नभएका उनलाई असार २९ गते दिउँसो अचानक ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएपछि तत्कालै नारायणी अस्पताल वीरगंज पठाएको थियो ।
जेठ ३० गत्ते बारा निजगढ गनरपालिका–६ का ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर हस्पिटलमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु थियो। निमोनीया र ज्वरोले सिकिस्त बालकको स्वाब परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको थियो। जेठ २८ गत्ते वीरगंजको घन्टाघर नजिकै ३० वर्षीय युवक मृत भेटिए। शवलाई सुरक्षा सतर्कतासाथ नारायणी अस्पतालको शवगृहमा राखेर चिकित्सकले स्वाब संकलन गर्यो। प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो।पहिचान नखुलेपछि जेठ ३१ गत्ते नेपाली सेनासहितको शव व्यवस्थापन टोलीले शव व्यवस्थापन गर्यो।
जेठ ४ गते वीरगंज महानगरपालिका–१५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बारा करैया गाउँपालिका–७ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। प्रदेश २, सामाजिक विकास मन्त्रालयलले शुक्रबारसम्म यस प्रदेशमा ४९ हजार ५ सय ४१ जनाको स्वाब संकलन भएको छ । जसमा ४ हजार ६१ व्यक्तिको रिपोर्ट पोजेटिभ आएको जनाएको छ। एक हजार ९ सय १५ जना आइसोलेसनमा भर्ना छन। दुई हजार ६ सय २७ जना व्यक्ति कोरोना जीतेर घर फर्किसकेका छन् ।
प्रतिक्रिया